कञ्चनपुर – नेपालको राजनीतिक र साहित्यिक दुवै फाँटमा उत्तिकै उचाइ प्राप्त व्यक्तिहरू मा लोकेन्द्रबहादुर चन्दको पनि नाम आउँछ। राजनीति सङ्ग-सङ्गै साहित्यमा समेत सुपरिचित चन्दको योगदान महत्वपूर्ण रहेको छ। सक्रियताका दुवै फाँटमा लामो समयसम्म निरन्तर सक्रिय रहन सक्नु पनि उनको विशेषता पाइन्छ। गद्य तथा पद्य दुवै विधामा उत्तिकै योगदान दिँदै एक दर्जन भन्दा बढी कृतिका सर्जक उनलाई कथा/आख्यान विधाले बढी चिनाएको छ।
वि. सं २०५४ मा उनको विसर्जन कथा सङ्ग्रहले मदन पुरस्कार प्राप्त गरे पछि आम साहित्यिक वृत्तमा उनको साहित्यिक व्यक्तित्वलाई अझ बढी चिनायो। उनको ८४ वर्षको उमेर हुँदा २०८० मा आख्यान कृति अपराजिता प्रकाशन हुनुले पनि साहित्यिक सक्रियतालाई उमेरले पनि नरोकेको आभास हुन्छ।
कथा साहित्यमा उनको परिपक्वता स्मरणीय छ । चार वटा कथा संग्रह हिउँको तन्ना (२०४२) , विसर्जन (२०५४) ,रात्रिभोज ( २०६०) र पाहुना घर (२०६८) मा क्रमसः ११ , ११ , १८ ,र ७ वटा गरी जम्मा ४७ वटा कथाहरू छन्। संख्यात्मक हिसाबले संख्यात्मक रूपमा थोरै देखिएलान् तर हरेक कथा आफैमा अब्बल छन्। कथा विश्लेषणका जुनसुकै आधारमा पनि हरेक कथाहरूमा समाजको चित्र छ। सामाजिक परिस्थिति, परिवेश तथा घटनाहरूको सजिवतालाइ सरलता र कौतुहलता युक्त हुने गरि पस्किएका छन्। उनका कथाहरू सामाजिक धरातलमा उभिएका छन्। कथाका हरेक भागहरू लाई सन्तुलित ढंगले पस्किन सफल चन्दका कथाहरू उनले भोगेको, देखेको र अनुभव गरेको नेपाली समाजको संस्लेषणात्मक आख्यान पनि हुन्।
कथाहरूले पछिल्लो सामन्तवादी समाज व्यवस्था देखि गणतन्त्रकाल सम्मको सामाजिक राजनैतिक कालक्रम समेटेको पाइन्छ। भने अविकसित र अशिक्षित ग्राम्य जीवनदेखि विकसित र आधुनिक विदेशी सामाजिक क्षेत्रका कुराहरू सम्म कथाहरूमा समावेश छन्। सामाजिक परिवेशमा देखा परेका बिभिन्न प्रकारका समस्या वा घटनाहरूको यथार्थतालाई नजिकैबाट नियालेका द्रष्टाका रूपमा आर्थिक, राजनैतिक, धार्मिक, सांस्कृतिक, मनोवैज्ञानिक एवम् वैचारिक पक्षहरू लाई सरल र सहजरूपमा कथाका पात्रको माध्यमबाट पस्किन सफल उनका कथाहरूमा गरिब, पछि परेको वर्गका पीडा, समस्या तथा तिनमाथि भएको अन्यायको पाटो एकातिर पाइन्छ भने अर्को तिर समाजका सामन्त, शासक वा राजनैतिक र प्रशासनिक वर्चश्व भएको वर्गले शक्ति अनि सत्ताको आडमा गर्ने शोषण, भ्रष्टाचार, दमन पनि कथाहरूमा अभिव्यक्त भएको पाइन्छ।
अशिक्षा, गरिबी, पछौटेपन, भाग्यवादी सोच , तथा चेतनाको कमी जस्ता कारणले समाजमा हुनेखाने बर्गको वर्चस्व बढेको, राज्य व्यवस्थामा रहेका विकृति विसङ्गति, राजनीतिको नकारात्मक प्रभाव, सामाजिक विकृतिका कारण सर्वसाधारणले दुःख पाउने गरेको, निराशा बढ्ने, विदेशिनु पर्ने र द्वन्द्व बढेको कुरा कथाका विषयवस्तु बनेका छन् ।
समकालीन समाजका समस्याहरू अधिकांश ग्रामीण जीवनमा रहेका छन भन्ने कुरा धेरै कथाहरूमा ग्रामीण परिवेश, गाउँलेले जीवन र कृत्यहरूको उल्लेख गरिनुले पनि देखाउँछ। सामाजिक जीवनको चित्रणको क्रममा सहरिया र गाउँको जीवनका भिन्नता पनि कथाहरूमा अभिव्यक्त भएको पाइन्छ। नेपाली समाजको विभिन्न परिवेशका वास्तविक जस्तै लाग्ने बिभिन्न चरित्रहरूलाई कथाका पात्रका रूपमा प्रस्तुत गर्न मात्रै होइन, सान्दर्भिक कथनहरूको मौलिक प्रस्तुति गर्न पनि कथाकार सक्षम देखिएका छन्।
कथाहरू विशुद्ध सामाजिक घटनाका चित्र मात्रै होइन त्यस भित्र मनोरञ्जन, मनोविज्ञान सँगै परिवेश, समस्या घटना सँगका सम्वेदना, सम्वेग, माया प्रेम, घृणा अनि पात्रका समय, परिस्थिति र प्रासङ्गिक क्रियाकलाप पनि कथाहरूमा यथास्थान औचित्यपूर्ण रूपमा आउनु पर्दछ यस कुरामा पनि कथाकारिता चुकेको छैन्।
कथाक्रम र त्यसको प्रवाह समेत रोचक र सरल छ, पढ्दा पढ्दै बिचमै छोडौँ छोडौँ लाग्ने अवस्था सायद कुनै कथामा छैन अतः आम पाठक मैत्री कथाहरू छन् भन्दा अतिशयोक्ति नहोला। कथाहरूको भाषिक सन्दर्भमा हेर्दा सरल नेपाली भाषाको प्रयोग भएको भए पनि विषयवस्तुको चयन तथा भाषिक प्रयोगमा सुदूरपश्चिमको आञ्चलिक प्रभाव महत्वपूर्ण रूपमा रहेको छ ।
साथै नेपालको राष्ट्रिय साहित्यिक मूलधारमा सुदूरपश्चिमको योगदान लाई लोकेन्द्रबहादुर चन्दका कृतिहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। आफ्नो जन्मभूमि, मातृभाषा तथा संस्कृति प्रतिको आत्मियता कथाकारमा रहेको छ भन्ने कुरा पनि कथाहरूले बोलेका छन्। नेपाली सामाजिक कथा लेखनका दृष्टिले लोकेन्द्रबहादुर चन्द अब्बल कथाकारको रूपमा स्थापित भएका छन्।
जगदीश ओझा, कञ्चनपुर –लेखकको परिचय
नाम : जगदीश ओझा
जन्मस्थान : मेलौली-६बैतडी
पेशा : शिक्षण ,सत्यवादी माध्यमिक विद्यालय भी न पा ५ कञ्चनपुर
साहित्यिक संलग्नता- सचिव गुगुल्डि वाङ्मय प्रतिष्ठान, प्रलेस सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष/रा प स









Discussion about this post