कञ्चनपुर – कञ्चनपुरका सरोकारवाला निकायका प्रतिनिधिले लागू औषध (कुलत) न्यूनिकरणका लागि प्रतिबद्धता जाहेर गरेका छन् । जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिले लागू औषध (कुलत) न्यूनिकरणका लागि प्रतिबद्धता जाहेर गरेका हुन ।
स्वीट नेपालले समाजिक विकास मन्त्रालयको सहयोगमा बुधबार महेन्द्रनगरमा आयोजना गरेको लागू औषध (कुलत) न्यूनिकरणका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा न्यूनिकरणका लागि प्रतिबद्धता कार्यक्रममा सहभागि सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिले कुलतलाई जरैबाट उखेल्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने संकल्प गरेका छन् ।
स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले पछिल्ला दिनहरूमा कञ्चनपुर सुदूरपश्चिम सहित देशैभरी लागू औषधको बिगबिगी बढिरहेका बेला न्यूनिकरण गर्न एक निकायको पहलले मात्रै नहुने भएकाले सरोकारवाला नै जागरुक गराउनका लागि कार्यक्रम गरिएको बताए ।गैर सरकारी संस्था कञ्चनपुरका निर्वतमान अध्यक्ष नरेश सिलालले लागू औषधको भ्वाङ नै परेकाले न्यूनिकरणका लागि नागरिक समाजदेखि सरकारी निकाय जागरुक हुनुपर्नेमा जोड दिँदै प्रतिबद्धता जाहेर गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जिल्लाको लागू औषधको वस्तुस्थिति बारे प्रतिवेदन प्रस्तुत गर्दै न्यूनिकरणका लागि प्रहरीले कथक प्रयास गरिरहेको भन्दै प्रहरीका तर्फबाट प्रतिबद्धता जाहेर गरेका छन् । महिला अगुवा भगवती थापाले लागू औषधको लतबाट सन्तान बचाउन अभिभावक जिम्मेबारी बन्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले लागू औषध निर्मूल पार्नका लागि परिवार, समाज विद्यालयदेखि सरकारी निकाय पुरै जिम्मेबार बन्नुपर्नेमा सुझाव दिएका छन ।जिसस प्रमुख बोहराले बालबालिकादेखि किशोर, किशोरी युवाहरूलाई कुलतबाट बचाउन पालिका सहितका सरकारी निकायले प्रभावकारी योजना ल्याउँनुपर्नेमा जोड दिए ।
जिल्लाका विद्यार्थी संघ संगठन नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी अनेरास्ववियु, प्रजातान्त्रिक विद्यार्थी संघ सङ्गठनहरूका प्रतिनिधिले समेत लागू औषध निर्मूलका लागि प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले समाजका विविध निकायका प्रतिनिधिसँग लागू औषध न्यूनिकरणका लागि संयुक्त छलफल गरिएको बताए । उनले एकै निकायसँग छलफल गर्दा लागू औषध न्यूनिकरणमा प्रभावकारिता नआउने भएकाले सबै सरोकारवाला निकायसँग छलफल गरेको बताए । कार्यक्रममा सरकारी तथा गैर सरकारी निकाय, युवा विद्यार्थी सहितको सहभागिता रहेको थियो ।