कञ्चनपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजले गरेको एनप्याब्सन खेलकुद महोत्सव २०८१ सुरु भएको छ।
पुस गते देखि पुस २९ गते सम्म हुने नेशनल प्याब्सन जिल्ला स्तरीय खेल महोत्सवको शुक्रवार उद्घाटन गरिएको छ। खेल महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सुदूरपश्चिम प्रदेश अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएकाले सरकारले प्रदेशका योजना प्राथमिकतामा साथ अघि बढाएको बताउनुभएको छ । गृहमन्त्री लेखकले सरकारी सामुदायिक शिक्षा सुधारका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउँदै, अहिले समाजका मुख्य चुनौती लागु औषध, सडक दुर्घटना र आत्महत्या जस्ता घटना रहेको बताउनु भयो । उक्त तीनै घटना एक अर्कासँग अन्तर सम्बन्ध भएकाले तीनै घटना न्यूनीकरणका लागि सरकारदेखि निजी क्षेत्र समेत जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

जिल्लाका एन-प्याबसनमा आबद्धता रहेका विद्यालयहरूको उपस्थितिमा करिब २० हजार बढी विद्यार्थीहरूको सहभागितामा कार्यक्रमको आयोजना भएको हो । विद्यार्थीहरूले बजार परिक्रममा गरी मञ्चमा आएर मार्च पाशमा सहभागिता जनाएका थिए । साथै विद्यालयका विद्यार्थीहरूले विभिन्न देशभक्ति तथा सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति समेत गरिएका थिए।
प्रतियोगिता आधारभूत तह क (कक्षा १-५), आधारभूत तह ख (कक्षा ६-८) तथा माध्यमिक तह क (कक्षा ९-१०) र माध्यमिक तह ख (कक्षा ११-१२) गरी चार तहमा हुने आयोजकले जनाएको छ। जसमा छात्र, छात्रा बिच लङ जम्प, हाई जम्प, सर्ट फुट, भलिबल, १ सय, २ सय ४ सय मिटर दौड जस्ता खेलहरूमा प्रतिस्पर्धा हुने छ। खेलकुद महोत्सवमा ५२ स्वर्ण, ५२ रजत र ६६ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा हुनेछ। खेल शनिवारदेखि महेन्द्रनगर स्थित कभर्ड हलमा सञ्चालन हुने नेशनल प्याब्सन कञ्चनपुरले जनाएको छ।
