कञ्चनपुर । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकामा रहेको जिबि आइडियल ग्रुपका प्रबन्ध निर्देशक गजेन्द्र भट्टलाई सम्मानित गरिएको छ। नगरपालिकाले आयोजना गरेको नगर उप-प्रमुख कार्यक्रम अन्तर्गत सर्वाङ्गीण विकासका लागि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रममा भट्टलाई विशेष रूपमा सम्मान प्रदान गरिएको हो।
गजेन्द्र भट्टले लामो समयदेखि इलेकट्रोनिक व्यवसाय गर्दै दोधारा चाँदनी नगरपालिकामा स्वरोजगारको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। विशेषतः उनले सञ्चालनमा ल्याएको एलइडी बल्ब उद्योगमार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै नगरको आर्थिक उन्नतिमा टेवा पुर्याएका कारण उनलाई सम्मान गरिएको हो।
सम्मान समारोहमा नगरपालिकाका विभिन्न पदाधिकारीहरू, स्थानीय व्यवसायीहरू तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा भट्टको प्रयासले दोधारा चाँदनी क्षेत्रमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गरेको भन्दै प्रशंसा गरिएको थियो।
गजेन्द्र भट्टले सम्मान ग्रहण गर्दै आफ्नो उद्योगलाई अझ व्यापक रूपमा विस्तार गरी स्थानीय समुदायको आर्थिक विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।