विकाश सिंह महता, कञ्चनपुर : कञ्चनपुर जिल्लामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ। भीमदत्त नगरपालिकामा वैशाख ८ गते एक समलिङ्गी जोडीले आफ्नो तीन वर्ष लामो सम्बन्धलाई कानुनी मान्यता प्रदान गर्दै विवाह दर्ता गराएका छन्। यो घटनाले कञ्चनपुरमा सामाजिक समावेशीकरण र समलैंगिक अधिकारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ।
सर्वोच्च अदालतको गत असारमा जारी अन्तरिम आदेशले समलैंगिक विवाह दर्ताको बाटो खोलेको थियो। यद्यपि, सामाजिक विभेद र चुनौतीका कारण कञ्चनपुरमा हालसम्म यस्तो विवाह दर्ता भएको थिएन। पहिलो पटक विवाह दर्ता गराउने जोडीले नाम गोप्य राख्ने सर्तमा आफ्नो खुसी व्यक्त गरेका छन्। “थुप्रै विभेद र समस्याहरू झेल्दै हामी यो दिनमा आइपुगेका छौँ,” उनीहरूले भने, “हाम्रो विवाह वडा कार्यालयमार्फत दर्ता भएको छ, हामी निकै खुसी छौँ।”
यो विवाह दर्ता प्रक्रियामा भीमदत्त नगरपालिकाको वडा कार्यालयको सहयोग अतुलनीय रहेको सहयात्रा नेपाल, कञ्चनपुरले जनाएको छ। साथै, नील हिरा समाज, काठमाडौँ र सहयात्रा नेपालको सहयोगले यो कार्य सहज भएको जोडीले बताए। दुवै संस्थाले नव विवाहित जोडीलाई बधाई दिँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि यो कदम ठुलो उपलब्धि भएको उल्लेख गरेका छन्।
नेपालमा पछिल्लो समय समलैंगिक विवाह दर्ताको प्रक्रियाले गति लिइरहेको छ। कञ्चनपुर, कैलाली, बर्दिया लगायतका जिल्लाहरूमा यस्ता विवाह दर्ता भइसकेका छन्। सर्वोच्च अदालतले अस्थायी अभिलेख राख्ने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएसँगै यस्ता कार्यले कानुनी मान्यता पाएका छन्।
यो घटनाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समाजमा खुल्न र आफ्नो पहिचान स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। सहयात्रा नेपालले सामाजिक विभेद अन्त्य गर्न र समावेशी समाज निर्माणका लागि यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
Discussion about this post