कञ्चनपुर – सावद सेवा समिति कञ्चनपुरको आयोजनामा देउडा कार्यक्रम २०८१ सम्पन्न भएको छ। सुदूरपश्चिमेलीहरूको महान धार्मिक तथा सांस्कृतिक गौरा पर्वको अवसरमा महेन्द्रनगरस्थित संविधान चोक (महेन्द्र स्मारक) मा सोमबार उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
सावद सेवा समिति कञ्चनपुरका अध्यक्ष ललित साउदको सभापतित्व रहेको उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका डोटीका उपप्रमुख तथा सावद सेवा समितिका केन्द्र उपाध्यक्ष कलावती साउदको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा भीमदत्त नगरपालिका उपाध्यक्ष निलम लेखक जोशी, सावद सेवा समितिका केन्द्रिय महासचिव बिरेन्द्र सिह साउद, उपाध्यक्ष डा. पदमा भण्डारी साउद तथा कर्णजित साउदको विशिष्ट आतिथ्य रहेको थियो।
कार्यक्रममा ४ जना देउडा गायकहरूलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा ईन्द्रा साउद, सँगिना शाही, मानमति साउद र जानकी धामी रहेका छन्। सुदूरपश्चिमको कला संस्कृति जोगाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनिहरूलाई सम्मान गरिएको सावद सेवा समिति कञ्चनपुरले जनाएको छ। गत वर्ष पनि सावद सेवा समिति कञ्चनपुरले १० जना देउडा गायकहरूलाई सम्मान गरेको थियो।
कार्यक्रममा बोल्दै सावद सेवा समितिका केन्द्रीय महासचिव बिरेन्द्र सिह साउदले सावद सेवा समिति कञ्चनपुरले गत वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिइरहेको बताएका छन्। सुदूरपश्चिमको कला संस्कृतिको जगेर्ना गर्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको उनको भनाई रहेको छ। साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि एवम् दिपायल सिलगढी नगरपालिका डोटीका उपप्रमुख तथा सावद सेवा समितिका केन्द्र उपाध्यक्ष कलावती साउदले सुदूरपश्चिमको कला संस्कृति जगेर्ना गर्ने यस्ता कार्यक्रमहरू निरन्तर भइरहनुपर्ने बताउनुभयो। कार्यक्रमको समापन गर्दै सावद सेवा समिति कञ्चनपुरका अध्यक्ष ललित साउदले आगामी वर्ष पनि यस्तै कार्यक्रमको आयोजना गर्ने प्रतिवद्धता गरेका छन्।
सावद सेवा समिति कञ्चनपुरका सचिव जगत साउदले सञ्चालन गरेको उक्त कार्यक्रममा जिल्ला उपाध्यक्ष मोहन सिह साउदले स्वागत मन्तव्य राखेका थिए। साथै कार्यक्रममा युनाइटेड बोर्डिङ स्कुलका विद्यार्थीहरूको समेत नृत्य प्रस्तुत गरेका थिए।