रबि भट्ट, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित गल्ली नम्बर ३ मा आइटी मार्ग इन्स्टिच्युट सञ्चालनमा आएको छ। नयाँ पुस्तालाई प्रविधिमा दक्ष र सीपमूलक जनशक्ति बनाउने उद्देश्यले स्थापना गरिएको यो इन्स्टिच्युटले सुदूरपश्चिममा प्राविधिक शिक्षाको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। मङ्गलवार एक समारोहबिच इन्स्टिच्युटको उद्घाटन पूर्व सांसद नरबहादुर धामीले रिबन काटेर गरेका छन्।
इन्स्टिच्युटका सञ्चालक टेकेन्द्र जोशीले प्रविधिको युगमा आइटी शिक्षाको महत्वलाई ध्यानमा राख्दै यो पहल सुरु गरिएको बताए। “हाम्रो लक्ष्य सस्तो र सुलभ तरिकाले कम्प्युटर तथा आइटी सम्बन्धी ज्ञान प्रदान गर्नु हो, जसले विशेष गरी युवाहरूलाई रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्न सकोस्,” जोशीले भने। जोशी सुदूरपश्चिम विश्वविद्यालयमा आइटी विषय अध्ययनरत विद्यार्थी हुन् र विगत केही वर्षदेखि आइटी क्षेत्रमा सक्रिय छन्। उनी लोक तथा दोहोरी गायकको रूपमा समेत परिचित छन्। उनको यो बहु प्रतिभाले इन्स्टिच्युटको सञ्चालनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्व सांसद धामीले आइटी मार्ग इन्स्टिच्युटको स्थापनालाई समयसापेक्ष र प्रशंसनीय कदम भएको बताए। “आजको युग प्रविधिको युग हो। यस्तो बेलामा कञ्चनपुरजस्तो ठाउँमा यस्तो इन्स्टिच्युट सञ्चालनमा आउनु साँच्चै खुसीको कुरा हो,” उनले भने। उनले नयाँ पुस्तालाई प्राविधिक ज्ञानले सुसज्जित बनाउन यस्ता पहलले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

सञ्चालक जोशीले इन्स्टिच्युटले विशेष गरी ग्रामीण र पहाडी क्षेत्रबाट आउने विद्यार्थीहरूलाई प्राथमिकता दिइने बताए। उनले भने, “हामी पहाडबाट आउने विद्यार्थीहरूलाई विशेष छुट प्रदान गर्नेछौँ ताकि उनीहरूले पनि गुणस्तरीय आइटी शिक्षा प्राप्त गर्न सकुन्।” इन्स्टिच्युटमा आधारभूत कम्प्युटर कोर्सदेखि लिएर एडभान्स प्रोग्रामिङ, वेब डिजाइन, डाटा एनालिटिक्सजस्ता आधुनिक कोर्सहरू समावेश गरिने योजना रहेको उनले जानकारी दिए।
उद्घाटन समारोहमा स्थानीय बुद्धिजीवी, युवा, र प्राविधिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। आइटी मार्ग इन्स्टिच्युटले सुदूरपश्चिमको शैक्षिक र प्राविधिक क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ।