कञ्चनपुर – कञ्चनपुरको मन्त्र अस्पतालले स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै नवजात शिशु, बाल रोग र दन्त चिकित्सा सेवालाई विस्तार गरेको छ। अस्पतालले अनुभवी बाल रोग विशेषज्ञ डा. रवि ढकाललाई नियुक्त गरी नवजात शिशुको पेट र कलेजोसँग सम्बन्धित रोगको उपचार सुरु गरेको छ। स्वदेश र विदेशमा ख्याति कमाएका डा. ढकालको सेवा सुरु भएसँगै स्थानीय बिरामीले गुणस्तरीय उपचार पाउने अपेक्षा गरिएको छ।
यसै गरी, मन्त्र अस्पतालले पूर्णकालीन डेण्टल सेवा सञ्चालनमा ल्याएको छ। अब दाँत र गिजासम्बन्धी समस्याका बिरामीले कञ्चनपुरमै विशेषज्ञ उपचार पाउनेछन्। अस्पतालका निर्देशक डा. गोविन्द रोकायाले विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरू थप्दै सेवा विस्तारमा जोड दिएको बताए। “हामीले मासिक रूपमा जटिल शल्यक्रिया र मेजर अपरेसन गरिरहेका छौँ। ओपिडीमा सेवाग्राहीको विश्वास र चाप दिनदिनै बढ्दो छ,” उनले भने।
हाल अस्पतालमा १५ विशेषज्ञसहित ६५ जना जनशक्ति कार्यरत छन्। हाड जोर्नी, बाल रोगलगायतका सेवाहरू दैनिक रूपमा प्रदान गरिन्छ। पूर्णकालीन र अंशकालीन चिकित्सकहरूको टोलीले बिरामीको उपचारमा कुनै कसर बाँकी राखेको छैन। डा. रोकायाले जनविश्वास पूर्ण रूपमा जित्न बाँकी रहेको स्वीकार गर्दै थप सुविधा र गुणस्तरीय सेवामा जोड दिने प्रतिबद्धता जनाए।
मन्त्र अस्पतालले सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेको छ। अस्पतालले गाउँ-गाउँमा निःशुल्क स्वास्थ्य शिविर, खेलकुद प्रतियोगितामा प्राथमिक उपचार सेवा र विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउँदै आएको छ। बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई ५ देखि २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिएको छ।
विगत तीन वर्षदेखि सञ्चालित मन्त्र अस्पतालले कञ्चनपुरका बिरामीको भारत र अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता अन्त्य गरेको छ। बिरामीका आफन्तहरूले स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउँदा राहत महसुस गरेको बताएका छन्। अस्पतालले आगामी दिनमा थप विशिष्टीकृत सेवा र सुविधा विस्तार गर्ने योजना बनाएको छ, जसले कञ्चनपुरलाई स्वास्थ्य सेवाको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।









Discussion about this post