काठमाडौं : ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आउने भएका छन्। यसअघि गत शुक्रवार उनको नेपाल आगमन तय भएकोमा स्वास्थ्य समस्याका कारण स्थगित भएको थियो। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा चलिरहेको एनएसएलअन्तर्गत भोलि हुने दोस्रो क्वालिफायर खेल हेर्न कार्लोस रङ्गशालामा उपस्थित हुने आयोजकले जनाएको छ। दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र धनगढी एफसी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्। ललितपुर सिटी यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। फाइनल खेल आउँदो शनिवार हुने तालिका छ।
कार्लोसले आज साँझ ठमेलस्थित एलओडी क्लबमा विशेष उपस्थिति जनाउने कार्यक्रम रहेको छ। सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा प्रमुख खेलाडी रहेका कार्लोसले १२५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन्। यस्तै, क्लब फुटबलमा ७५६ खेलमा ९७ गोल गरेका उनको आगमनले नेपाली फुटबल प्रशंसकमा उत्साह छाएको छ।
एनएसएलले कार्लोसको उपस्थितिले प्रतियोगिताको आकर्षण थपिने विश्वास व्यक्त गरेको छ। उनको नेपाल भ्रमणले नेपाली फुटबलको अन्तर्राष्ट्रिय पहिचानलाई समेत बल पुग्ने अपेक्षा गरिएको छ।









Discussion about this post