कञ्चनपुर – कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मण ढकालले जिल्लामा शान्ति, सुशासन, सुरक्षा र बेथिति न्यूनीकरणका लागि पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्। बुधवार जिल्लाका पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा प्रजिअ ढकालले विद्यमान समस्याहरूको पहिचान गरी समाधानका लागि सक्रिय पहल गर्ने बताए। “जिल्लामा देखिएका समस्याहरूलाई आफ्नै तहबाट समाधान गर्नेछु, तर यसमा सबै पक्षको सहयोग आवश्यक छ,” उनले भने।
प्रजिअ ढकालले सीमा समस्या र लागू औषध दुर्व्यसनीलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै यिनको नियन्त्रणमा कडा कदम चाल्ने प्रतिबद्धता जनाए। “महिला हिंसा र लागू औषध दुर्व्यसनी नियन्त्रण मेरो पहिलो प्राथमिकता हो। यी समस्याले हाम्रो सामाजिक संरचना भत्काउँदै छन्, समयमै रोक्नुपर्छ,” उनले जोड दिए।
सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नागरिकलाई सहज सुविधा प्रदान गर्न प्रशासन प्रतिबद्ध रहेको ढकालको भनाइ छ। भन्सारमा देखिएका समस्या, सार्वजनिक जग्गा अतिक्रमणलगायत जिल्लाका समग्र समस्याहरू समाधान गर्न सरोकारवाला पक्षसँग समन्वय गरी अघि बढ्ने उनले बताए। “सार्वजनिक जग्गा खाली गराउने कार्यलाई निरन्तरता दिनेछु,” उनले भने।
यसअघि कञ्चनपुरमै सहायक प्रमुख जिल्ला अधिकारी (एलडिओ) को जिम्मेवारी सम्हालिसकेका सहसचिव ढकालले विगतको अनुभवलाई अझ प्रभावकारी बनाउँदै जिल्लाको विकास र सुशासनमा योगदान पुर्याउने सङ्कल्प व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले सहज सूचना प्रवाहका लागि वातावरण बनाउन अनुरोध गरे।
सिडिओ ढकालले जिल्लाको समृद्धि र विकासका लागि सरोकारवाला सबै पक्षसँग परिचयात्मक भेटघाटलाई तीव्रता दिएका छन्। उनको यो सक्रियताले कञ्चनपुरमा शान्ति, सुशासन र विकासको नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ।









Discussion about this post