कञ्चनपुर — भीमदत्त नगरपालिकामा आयोजित आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको छ। भीमदत्त नगरपालिका १९ वडा कार्यालयको आर्थिक सहयोग तथा सिद्धनाथ आधारभूत विद्यालय बागफाँटाको आयोजनामा सम्पन्न प्रतियोगितामा बागफाँटाकै लक्ष्मी माध्यामिक विद्यालयले प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा भीमदत्त नगरपालिका १३ पिपरैयाको बैजनाथ विद्या निकेतन आधारभूत विद्यालय द्वितीय तथा भीमदत्त नगरपालिका ६ ऐठपुर त्रिबेणी आधारभूत विद्यालय तृतीय स्थानमा रहेका छन्। साथै, सान्त्वना पुरस्कार भीमदत्त नगरपालिका १४ बनकट्टीको बैजनाथ आधारभूत विद्यालयलाई प्रदान गरिएको छ।
विजयी विद्यालयहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। प्रथम हुने टिमलाई नगद ५ हजार रुपैयाँ, द्वितीयलाई ४ हजार, तृतीयलाई ३ हजार तथा सान्त्वना टिमलाई १ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको हो।
कार्यक्रममा पञ्चकृत माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक धर्मानन्द जोशीले विद्यार्थीहरूको चौतर्फी विकासका लागि जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सामुदायिक विद्यालयको शैक्षिक, भौतिक र गुणस्तरीय वृद्धिका लागि समन्वय आवश्यक रहेको उल्लेख गरे।

प्रतियोगिताको प्रश्नपत्र निर्माण गरेका भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधि दिपेन्द्र विष्टले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दा विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि हुने बताए। प्रतियोगिताको सहजीकरण भीमदत्त नगरपालिका १४ बनकट्टीस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले गरेका थिए।
सिद्धनाथ आधारभूत विद्यालयकी शिक्षिका आसो यादवले स्वागत मन्तव्य राखेकी थिइन् भने आयोजक विद्यालयका प्रधानाध्यापक मोहन देव जोशीले विद्यालयलाई विश्वास गरी कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याएकोमा वडा कार्यालयलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष जगुराम चौधरी (थारु) ले विद्यार्थीको बौद्धिक विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए। उनले आगामी वर्षका लागि बजेट थप गरिने र कार्यक्रमलाई अझ प्रभावकारी बनाइने आश्वासन दिए। द्वितीय स्थान हासिल गरेका बैजनाथ विद्या निकेतनका प्रधानाध्यापक भानदेव भट्टले वडा कार्यालयद्वारा आयोजित कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै आगामी प्रतियोगिता नगरस्तरमा आयोजना गर्नुपर्ने सुझाव दिए।
प्रथम स्थान हासिल गरेको लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथले विद्यार्थीको प्रतिभा विकासका लागि वडा कार्यालयले गरेका प्रयासहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा नगरका अन्य वडाहरू समेत सहभागी हुने गरी कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिए।
कार्यक्रम वडा शिक्षा समितिका अध्यक्ष जगत प्रशाद अवस्थीको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालन सिद्धनाथ आधारभूत विद्यालयका शिक्षक अर्जुन गिरीले गरेका थिए। कार्यक्रममा नगरका विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
