धनसिहं धामी, कञ्चनपुर – नेपालको अनुकुल वातावरणमा राम्रो स्वास्थ्य र आम्दानीको श्रोत बन्दै गइरहेको सञ्जीवनी सरह शीतलचिनीले आम जनमानसमा आफ्नो स्थान पाउँदै छ । शीतलचिनी छिटो हुर्किने, सुख्खा सहन सक्ने एक अद्भूत वृक्ष हो ।
शीतलचिनिको लाभदायिक गुण पहिले नै बैज्ञानिक तथा डाक्टरहरुले पत्ता लगाई उपयोग गर्न सुझाए पनि खासै नेपालमा यसले प्राथमिकता पाउन सकेको थिएन । लामो समय पछि यसको महत्व बारे थाहा पाएपछि प्रयोगकर्ता दिन प्रतिदिन बढ्दै गइरहेका छन् । बालबालिकालाई कुपोषणबाट बचाउन अनेक कार्यक्रम ल्याइन्छन्, घर वरिपरि भएका बिरुवाको वास्ता नगरेर बाहिरबाट आएका भिटामिनको नाममा अन्य खानेकुरा दिइन्छ ।
तर, शीतलचिनी जस्तो वनस्पतिको वास्ता गरिँदैन। शीतलचिनीमा मानव शरीरलाई आवश्यक पर्ने सबै किसिमका पोषण तत्व पाइन्छन् । अङ्ग्रेजीमा मोरिङ्गा भनिने यो वनस्पतिलाई सायद विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रा देशका नीतिनिर्माताको आँखा खुल्छ कि? यो वनस्पति तराई तथा मध्यपहाडमा लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिन्छ । तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुन, मोरिङ्गाका नामले चिनिन्छ, कतै शीतलचिनी पनि भनिन्छ ।
कृषि विकास मन्त्रालयले नै उपलब्ध गराएको तथ्याङ्क अनुसार तराईका १३ जिल्लाको ६७ हेक्टरमा वार्षिक पाँच सय ५४ मेट्रिक टन शीतलचिनी उत्पादन हुन्छ । यसको कलिलो कोसा बजारमा बिक्री हुन्छ र तरकारी खाइन्छ । तर, अन्य भागमा यसको उपयोगिताबारे आम उपभोक्ता जानकार छैनन् । शीतलचिनीको फल पोषणयुक्त हुन्छ । यसमा कीरा पनि खासै लाग्दैन । व्यावसायिक उत्पादनमा धेरै सम्भावना रहेको शीतलचिनी खेती गरिनु पर्दछ । शीतलचिनीको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । यसलाई पाउडर बनाएर, बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ ।
भिटामिन ‘ए’ को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्या सँगै झाडापखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने, कुपोषण बढ्दै जाने हुँदा यसको सेवनले सञ्जीवनीको काम गर्छ । शीतलचिनीले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि अच्यूत औषधिको काम गर्छ । तर हामी धेरैलाई यसको गुण थाहा छैन् । यो वनस्पतिको विशेष गन्ध हुन्छ । संस्कृतमा यसलाई तीक्ष्णगन्धा पनि भन्दा रहेछन् । भारत वा नेपालमा यसलाई कसैले मरुङ पनि भन्छन्। विज्ञका अनुसार शीतलचिनी जस्तो गुण भएको बिरुवा अर्काे पाउन गाह्रै पर्छ ।
अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अण्डामा पाइने जत्तिकै गुणकारी हुन्छ । यो वनस्पतिबारे विश्व स्वास्थ्य संगठनले पनि पछिल्लो चार दशकदेखि अनुसन्धान गर्दै छ । अनुसन्धानबाट पत्ता लागेको छ कि शीतलचिनीको पातमा कार्बोहाइट्रेट पनि हुन्छ । अर्थात् यसको पातको तरकारीले शरीरमा ऊर्जा पनि दिन्छ । यसका साथै पातमा भिटामिन सी, पोटासियम आदि पनि पर्याप्त पाइन्छ । एक शब्दमा भन्ने हो भने विभिन्न प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्व राखेर प्रकृतिले सित्तैमा दिएको उपहार हो । बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन भएका महङ्गो औषधि दिनु भन्दा करेसावारिमा उत्पादन गरेर सित्तैमा पाइने शीतलचिनी खान दिनु पर्छ ।
शीतलचिनीको बीउँबाट बनाइएको तेलचाहिँ ओलिभ तेल जत्तिकै राम्रो हुन्छ भनेर अनुसन्धानले देखाएको छ । ओलिभ तेलको उपयोग बिशेष परिवारहरुले गर्ने हुँदा शितलचिनीबाट बनाइएको तेलबारे कसैले वास्ता नै गर्दैनन । शीतलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिन्छ । यस्तो वनस्पति पाइने हाम्रो नेपालमा यहाँका बालबालिकामा कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनु जस्तै हो । दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ । आयुर्वेदमा यो वनस्पतिले तिन सय जति रोगको उपचार गर्छ भनिएको छ । यसलाई कतिले त जादुको रूख पनि भन्छन ।
यसलाई जादुको रूख भनिनुको कारण सायद यसमा धेरै प्रोटिन, गाजरमा भन्दा बढी भिटामिन ए, केरामा भन्दा बढी पोटासियम र दूधमा भन्दा बढी क्याल्सियम भएर हो । यसमा रोगसँग लड्ने शक्ति हुन्छ, आमाको दूध बढाउने तत्व हुन्छ भनेर आयुर्वेदमा लेखिएको छ । केही अनुसन्धानले यसको प्रयोगबाट उच्च रक्तचाप घट्न सक्ने सम्भावना देखाएको छ । धेरै औषधिय गुण रहेको शीतलचिनीको पाउडर र तरकारी बनाएर यसको महत्व बुझेका व्यक्तिहरुले खाने गरेको पाईन्छ । शीतलचिनीको विरुवा घर घरमा लगाउने हो भने यसले एकातिर औषधिको रुपमा अर्को तिर तरकारीको रुपमा पनि प्रयोग हुने र व्यवसायीक खेती गरे आमदानिको श्रोत बढ्ने देखिन्छ ।