कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -१० मा परम्परागत ‘सावनको डोला’ विधिवत् रूपमा सुरु भएको छ। बुधबार एक कार्यक्रमका बीच वेदकोट नगर प्रमुख भोजराज बोहराले डोलाको उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै वेदकोटका नगर प्रमुख भोजराज बोहराले सावनको डोलाले राना समुदायको मौलिक संस्कृतिलाई जीवन्त राख्न मद्दत पुर्याउने बताउनुभयो। उहाँले यस पर्वले समुदायमा एकता र सद्भाव बढाउने विश्वास व्यक्त गर्दै नगरपालिकाले यस्ता सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्धनमा सधैं सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै वेदकोट -१० का अध्यक्ष रतन सिंह बिष्टले सावनको डोला राना समुदायको महत्वपूर्ण पर्व भएको र यसले नयाँ पुस्तालाई आफ्नो परम्परासँग जोड्न मद्दत गर्ने बताउनुभयो। उहाँले डोला सञ्चालनका लागि वडाले आवश्यक सहयोग गर्ने र यसलाई भव्य बनाउन सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा आदिवासी जनजाति राना समुदायका बडघर, भल्मन्सा, समाजसेवी, पत्रकार, शिक्षक लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
राना समुदायमा सावनको डोलाको रौनक
कञ्चनपुरसहित सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा साउन महिना सुरु भएसँगै ‘सावनको डोला’को विशेष रौनक छाएको छ। राना बस्तीहरूमा सार्वजनिक स्थानमा पिङ हाल्ने र खेल्ने चलन छ, जसलाई उनीहरू ‘सावनको डोला’ भन्छन्।

राना समुदायका जानकारहरूका अनुसार, यो पर्व खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाइन्छ। राना समुदायमा तीज पर्व आउन एक महिनाअघि नै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज मनाउने परम्परा छ। राना समुदायका महिलाहरूले दाजुभाइ र भतिजाहरूको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको छ, जसले यस समुदायको छुट्टै पहिचान र मौलिक संस्कृति झल्काउँछ।












Discussion about this post