कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा पाँचौँ वेदकोट नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । बुधवार देखी वेदकोट नगरपालिकामा पाँचौँ वेदकोट नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो ।
पहिलो पटक वेदकोट नगरपालिका ६ सिसैयामा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा पाँचौँ नगर स्तरीय तथा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख बोहराले स्वास्थ्यका लागि खेलकुद अनिवार्य रहेको बताउनुभयो। विद्यार्थीभित्र रहेको प्रतिभा र क्षमतालाई प्रस्फुटन गर्नका लागि यस्तो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहने बताउँदै यसलाई विशुद्ध विद्यार्थीको प्रतिभासँग जोडेर हेर्न आग्रह गर्नुभयो ।
त्यसैगरी उपप्रमुख तुलसी जोशीले यस्ता प्रतियोगिताबाट नै राष्ट्रलाई चाहिने खेलाडी उत्पादन हुने बताउनुभयो। प्रतियोगितामा वेदकोट नगरका १२ सामुदायिक र ८ निजी विद्यालयका विद्यार्थीबिच विभिन्न खेलकुद विद्यामा प्रतिस्पर्धा हुनेछ। तीन दिनसम्म सञ्चालन हुने नगर स्तरीय खेलकुद प्रतियोगिताका विजेता विद्यालयका खेलाडीलाई प्रमाणपत्र र मेडल सहित ट्रफी समेत प्रदान गरिनेछ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतियोगिता संयोजन गरेको भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्यालले आफ्नो विद्यालयमा नगर भरिकै विद्यालयका विद्यार्थीबिचको प्रतिस्पर्धाले थप उत्साह जगाएको बताउनुभएको छ।
कार्यक्रमको सञ्चालन समेत गरेका भुवनेश्वरी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रविन बोगटीले पहिलो पटक विद्यालयमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको छनौट भइरहेको बताउँदै खेल क्षेत्र स्वास्थ्य र अनुशासनको महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई प्रवर्द्धन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ। साथै अध्यक्ष बोगटीले नगरपालिकाले यस्ता प्रतियोगिता सञ्चालन गर्न तथा नगरमा खेलकुदको विकास गर्न पर्याप्त खेलमैदान निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ। ‘हाम्रो विद्यालयमा सोचे अनुरूप पर्याप्त फिल्ड छैन, तैपनि हामीले भएको फिल्ड व्यवस्थापन गरेर कार्यक्रम गर्न लागेका छौँ।‘ उहाँले भन्नुभयो, ‘आगामी दिनमा अब राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि छुट्टै फिल्ड बनाउनुपर्छ।’
नगर भरिकै विद्यालय एकसाथ सिसैयाको भुवनेश्वरी माविमा प्रतिस्पर्धा गर्न थालेपछि सिसैया क्षेत्र खेलकुदमय बनेको छ ।