डोटीको सायल गाउँपालिकामा बाढी पहिरोका कारण ५ सयभन्दा धेरै घर उच्च जोखिममा परेका छन् ।
यो गाउँपालिकाको वडा नं १, २, ४, ५ र ६ मा रहेका ५ सय ८४ घर पहिरोको जोखिममा रहेका गाउँपालिकाका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो ।
गएको वर्षको असोज, कात्तिक महिनामा परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो खसेको थियो । पहिरोमा परेर त्यतिबेला ६ जनाको ज्यान गएको थियो । तर, पहिरोका कारण जोखिममा रहेका ती बस्ती अहिलेसम्म स्थानान्तरण गरिएको छैन ।
गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं. ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २ सय ५० घरधुरी जोखिममा परेका छन् । त्यस्तै वडा नं. ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नं. ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।
त्यस्तै वडा नं. २ को सिर्मा गाउँका १ सय २० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा परेका छन् । वडा नं. १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा परेका छन् । पहिरोको जोखिममा रहेका बस्तीहरुमा बादल लाग्नेबित्तिकै फोन सेवा अवरुद्ध हुने गरेको छ। विमल बिष्टले उज्यालो अनलाइनमा लेखेका छन्।