कञ्चनपुर – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। यसका कारण आगामी २४ घण्टामा देशका विभिन्न भू-भागमा मौसममा विविधता देखिनेछ।
आज दिउँसोको मौसम
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। साथै, यी प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज रातिको मौसम
कोशी र मधेश प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यी प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
मौसमको यो अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।










Discussion about this post