कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका-७ सुडास्थित राधाकृष्ण मन्दिरको प्राङ्गणमा साउन १३ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरतीको आयोजना गरिने भएको छ। राधाकृष्ण मन्दिर समिति मूल आयोजक समितिको आयोजनामा यो बृहत् धार्मिक कार्यक्रम हुन लागेको हो।
परमपूज्य महाराज सरल कथावाचक पं. विष्णु प्रपन्नाचार्य (प्रमोद पौडेल) को मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिने राधाकृष्ण मन्दिर समिति मूल आयोजक समितिका अध्यक्ष भुवन अर्यालले जानकारी दिनुभयो।
धार्मिक सद्भाव कायम गर्न, जीर्ण रहेको मन्दिरको समग्र विकास गर्न र अक्षयकोष स्थापना गर्न यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष अर्यालले बताउनुभयो। उहाँले श्री राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास तथा कोष निर्माणार्थ आयोजित यस कार्यक्रममा उपस्थित भई आध्यात्म लाभ लिनुका साथै श्रृंगारिक महाआरती, १००८ शालिग्राम पूजन तथा परिक्रमा, रुद्रीपाठ, तुलादान, धनधान्याञ्चलमा सहभागी भई पुण्यलाभ लिन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक आमन्त्रण गर्नुभएको छ।
कार्यक्रमका सहसंयोजक नरेश भट्टले तुला दान, अन्नदान, प्रीतिदान, धनधान्याञ्चल, ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा लगायतका विविध धार्मिक कार्यक्रमहरू रहने बताउनुभयो। उहाँका अनुसार विशेष रुद्री शान्ति पाठ, व्रतबन्ध (उपनयन संस्कार) मा पनि सहभागी हुन सकिने व्यवस्था मिलाइएको छ। विगतमा पनि यस मन्दिरमा यस्तै महायज्ञको आयोजना गरिएको र अहिले पनि मन्दिरको विकासका लागि यो कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो।
साउन १३ गते बिहान ८ बजेदेखि शुभ कलशयात्राको आयोजना गरिने भएकोले सम्पूर्ण भक्तजनहरूलाई उक्त कलशयात्रामा सहभागी हुन मन्दिर समितिले आमन्त्रण गरेको छ।
महायज्ञ अवधिभर दैनिक बिहान ६:०० बजेदेखि ९:०० बजेसम्म वैदिक पूजापाठ गरिनेछ। त्यसपछि बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म मूल पाठ पारायण तथा रुद्रीपाठ सञ्चालन हुनेछ। दिउँसो १:०० बजेदेखि ५:०० बजेसम्म संगीतमय श्रीमद्भागवत कथा प्रवचन गरिनेछ भने बेलुका ६:०० बजेदेखि ७:०० बजेसम्म बाल संस्कार कार्यक्रम राखिएको छ। बेलुका ७:०० बजेदेखि ८:०० बजेसम्म श्रृंगारिक महाआरती र त्यसपछि बेलुका ८:०० बजेदेखि १०:०० बजेसम्म महात्म्य कथा, झाँकी र भजन कीर्तनको कार्यक्रम रहनेछ। महायज्ञको समापन २०८२ साउन १९ गते पूर्णाहुति, यज्ञ विसर्जनका साथै प्रसाद वितरण गरी गरिनेछ।










Discussion about this post