सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकातिर बन्दै, अर्कोतिर भत्किँदै

जनकपुरधाम : निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ। सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ। नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ।

संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ।’

तीन दिन लगाएर गरिएको स्थलगत अनुगमनपछि उनले भनिन्, ‘बाहिरबाट माटो ल्याएर सडकमा हाल्नुपर्ने थियो। तर, त्यसो गरिएन। यही अवस्थाले वर्षामा सडक भासिएर बेकामे हुन्छ।’

सडक नजिकै खनिएको गहिरो खाल्टोमा बालबालिका डुब्ने खतरा उत्तिकै रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

Mahakali Polytechnic

जनकपुरधाम–जलेश्वर–भिठ्ठामोड सकड निर्माणका लागि ९३ करोडमा दुई ठेकेदार कम्पनीले दुई प्याकेजमा ठेक्का लिएका छन्। प्रतिभा वाई पी जेभी ललितपुर र आशिष पप्पु–रोशन जेभी जनकपुरले ठेक्का लिएका हुन्।

समय सकियो, काम अधुरै

World Link Ads

तीन वर्षमा सडक निर्माण सक्नुपर्ने समय सीमा छ। असोजमा ठेक्का सम्झौता सकिँदै छ। ५० प्रतिशत काम सकिएको प्रतिवेदन आएको छ। त्यो प्रतिवेदन कागजी मात्रै रहेको अनुगन समितिको दाबी छ।

Sana Kishan

प्रतिभाले ५८.१२ र आशिषले ४८.५४ प्रतिशत काम सम्पन्न गरेको प्रगति प्रतिवेदनमा देखाइएको छ। कालोपत्रे कमसल खालको गरिरहेको समितिका सदस्य सांसद टेकबहादुर बस्नेतले बताए। ‘सडकमा टनका टन भारी लिएर १८ चक्के मालवाहक सवारीसाधन गुड्छन्। सडकमा सामान्य आटोसिल कालोपत्रे गरिँदै छ’, उनले भने, ‘उच्च श्रेणीको डीबीएसटी कालोपत्रे गर्ने ठेक्केदारसँग सम्झौता छ।’

दुई दशकको सास्ती

‘सडक निर्माण सुरु भएको तीन वर्ष भएको छ। काममा ढिल्लासुस्ती देखियो’, महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्सा अल्लीपट्टका मोहम्मद अमिताज राईनले भने, ‘धुलो उडेर हामी हैरान छौं। के काम हुन्छ, थाहै हुँदैन।’

‘माटो हालेर सडक अग्लो भयो। नाला बनेको छैन। वर्षामा सडकको पानी घरमा पस्छ’, उनले भने।

सडक निर्माणमा लापरबाही भएको गुनासो गर्दा पनि कसैले सुनुवाइ नगरेको भन्दै पिपराका राजुकुमार महराले आक्रोश पोखे। ‘सडक बनेको छैन। भत्किन थाल्यो’, उनले भने, ‘सुरुमै अनुगन गरिएको भए आज यो अवस्था आउँदैनथ्यो।’

सडक किनारमा १५ फिट गहिरो खाल्डो खनेर सडकमा माटो राखिँदा जोखिम बढेको पिपराकै रामभरोस कापरले दुखेसो पोखे।

‘सडक नजिकै ठूलो खाल्डो छ। खेत जोत्न ट्र्याक्टर जाँदैन। वर्षामा खाल्डोमा जम्ने पानीमा बालबालिका डुबेर मर्ने खतरा बढेको छ। सडक त बनाइयो तर हाम्रा लागि त्यो धरापजस्तै छ’, कापरले भने।

कारबाही माग

हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका कर्मचारी, धनुषा र महोत्तरीका प्रहरी–प्रशासनको साँठगाँठले सडक कमजोर र मापदण्डविपरीत निर्माण भएको अनुगमन टोलीकी सदस्य सांसद मीनाक्षी झाले बताइन्। ‘गुणस्तरहीन सडक बनाउनेलाई कारबाही हुनुपर्ने। ठेक्का रद्द गरी अर्को ठेक्का लगाएर मापदण्डअनुरूप काम हुनुपर्ने माग उठेको’ उनले बताइन्।

(from annapurna post)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.