सामाजिक सञ्जाल आज सूचना, विचार र अभिव्यक्तिको माध्यम मात्र रहेन। यसले मानिसको सोच, व्यवहार र सामाजिक गतिविधिलाई समेत प्रभावित गर्ने महत्वपूर्ण शक्ति बनिसकेको छ। यही कारण पछिल्लो समय ‘सोसल मिडिया इन्फ्लुएन्सर’ भन्ने शब्द व्यापक रूपमा प्रयोग हुन थालेको छ।
सामान्य अर्थमा इन्फ्लुएन्सर भन्नाले आफ्नो विचार, व्यवहार, भिडियो वा अन्य डिजिटल सामग्रीमार्फत ठूलो संख्यामा मानिसलाई प्रभावित पार्ने व्यक्तिलाई बुझिन्छ। तर प्रभावको वास्तविक मूल्य उसको फलोअर्स, भ्युज वा लाइक्सको संख्याले मात्र निर्धारण गर्दैन। समाजलाई आवश्यक परेको समयमा उसले आफ्नो प्रभावलाई कसरी प्रयोग गर्छ भन्ने कुराले त्यसको वास्तविक अर्थ निर्धारण गर्छ।
नेपालमा पछिल्लो समय आएका विपत्तिका घटनाहरूले सामाजिक सञ्जालको प्रभावलाई अर्को कोणबाट देखाएका छन्। कमेडी तथा रोस्टिङ कन्टेन्टमार्फत परिचित कन्टेन्ट क्रिएटर पिवाई अमृत (PY Amrit) यसको एउटा उदाहरणका रूपमा देखिएका छन्।
विपत्तिपछि अमृत र उनको टिमले एमआरआर टिम नवलपुर, जेन्जी नवलपुर लगायतका स्वतन्त्र युवाहरूसँग सहकार्य गर्दै राहत तथा उद्धार अभियानमा सक्रिय सहभागिता जनाए। राहत सामग्री संकलन र व्यवस्थापनदेखि अस्पतालहरूमा आवश्यक सामग्री उपलब्ध गराउने, प्रभावित परिवार तथा व्यक्तिहरूको खोजीमा सहयोग गर्ने र राहत प्रभावित क्षेत्रसम्म पुर्याउने कार्यमा उनी र उनको टिम प्रत्यक्ष रूपमा सहभागी भए।
नवलपुरबाट संकलित राहत सामग्री लिएर १६–१७ वटा गाडी प्रभावित क्षेत्रतर्फ पठाइनु र टोली स्वयं विदुरदेखि किस्पाङसम्म पुगेर राहत वितरणमा संलग्न हुनु सामाजिक सञ्जालको प्रभावलाई भर्चुअल संसारबाट वास्तविक जीवनसँग जोड्ने एउटा उदाहरण हो। यस घटनाको महत्व केवल एक जना कन्टेन्ट क्रिएटरले राहत वितरण गरे भन्नेमा सीमित छैन। यसको महत्वपूर्ण पक्ष ठूलो संख्यामा मानिससम्म पुग्ने डिजिटल प्रभावलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सकिन्छ भन्ने सन्देश यसले दिएको छ।
सामाजिक सञ्जालमा चर्चित बन्ने प्रतिस्पर्धा तीव्र छ। कन्टेन्टको भ्युज, फलोअर्स र पहुँचलाई प्रभावको मापदण्ड मान्ने प्रवृत्ति पनि बढ्दो छ। तर समाज संकटमा परेको समयमा त्यही पहुँचलाई सही सूचना प्रवाह, सहयोग जुटाउन र पीडितको आवाज बाहिर ल्याउन प्रयोग गर्न सक्नु सामाजिक सञ्जालको जिम्मेवार प्रयोग हो।
पिवाई अमृत नाम विषेशगरी रोस्टर वा मनोरञ्जनात्मक कन्टेन्ट क्रिएटरका रूपमा स्थापित भएको हुन सक्छ। रोस्टिङ, व्यङ्ग्य र मनोरञ्जन उनको डिजिटल पहिचानका महत्वपूर्ण पक्ष हुन्। तर सार्वजनिक जीवनमा व्यक्तिको परिचय एउटा क्षेत्रमा मात्र सीमित हुँदैन। संकटका बेला निर्वाह गरिने सामाजिक भूमिका व्यक्तिको सार्वजनिक पहिचानको महत्वपूर्ण हिस्सा बन्न जान्छ।
यहीँबाट ‘इन्फ्लुएन्सर’ शब्दको अर्थमाथि पुनर्विचार गर्न आवश्यक देखिन्छ।
लाखौँ मानिसले फलो गर्नु प्रभावको एउटा सूचक हुन सक्छ, तर त्यो प्रभावको अन्तिम उद्देश्य होइन। कुनै व्यक्तिको एउटा जिम्मेवार कामबाट अर्को व्यक्ति सहयोगका लागि प्रेरित हुन्छ, स्वयंसेवामा जोडिन्छ वा समस्यामा परेका मानिसको पक्षमा उभिन्छ भने त्यसले सामाजिक प्रभाव सिर्जना गर्छ।
सामाजिक सञ्जालले मानिसलाई जोड्ने शक्ति दिएको छ। अब प्रश्न त्यसको पहुँच कति ठूलो छ भन्ने मात्र होइन, त्यो पहुँच समाजका लागि कति जिम्मेवार ढंगले प्रयोग भइरहेको छ भन्ने हो। विपत्तिको समयमा गलत सूचना, अफवाह र सनसनीले थप समस्या सिर्जना गर्न सक्छन्। त्यसको विपरीत, विश्वसनीय सूचना, सहयोगको आह्वान र प्रत्यक्ष मानवीय सेवाले संकटमा परेका मानिसका लागि वास्तविक अर्थ राख्छ।
त्यसैले आजको समयमा इन्फ्लुएन्सर हुनु केवल मनोरञ्जन उत्पादन गर्नु वा मानिसको ध्यान खिच्नु मात्र होइन। आफ्नो प्रभावलाई सामाजिक जिम्मेवारीसँग जोड्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण विषय हो। रील्स, टिकटक र युट्युबबाट सुरु भएको प्रभाव जब वास्तविक जीवनमा पुग्छ, पीडितको दुःखमा साथ दिन्छ र अरूलाई पनि सहयोगका लागि प्रेरित गर्छ, त्यहीँबाट सामाजिक सञ्जालको प्रभावको वास्तविक मूल्य देखिन्छ।










Discussion about this post