काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार, राहत तथा पुनर्निर्माणको अवस्थाबारे तत्काल जानकारी लिन ‘रियल टाइम अपडेट सिस्टम’ निर्माण थालेको छ।
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार बसेको उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा मन्त्रालयअन्तर्गतका प्रभावित आयोजना तथा साइटको वास्तविक अवस्थाबारे नियमित र तत्काल जानकारी प्राप्त हुने गरी सूचना प्रणाली निर्माण गर्न निर्देशन दिएका हुन्।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै विपद्सम्बन्धी सूचना संकलन तथा प्रवाह हुँदै आएको थियो। अब मन्त्रालयले आफ्नै संयन्त्रमार्फत प्रभावित आयोजनाको अवस्था अद्यावधिक गर्ने तयारी गरेको हो।
नयाँ प्रणालीमार्फत बाढीबाट प्रभावित १६ वटा जलविद्युत् आयोजनामा रहेका श्रमिक तथा कर्मचारीको अवस्था, सुरुङभित्र र बाहिरको स्थिति, भइरहेको उद्धार अभियान, उद्धार गरिएका व्यक्तिको संख्या, आवश्यक सामग्रीको परिचालन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको सहभागितासम्बन्धी विवरण अभिलेख र अनुगमन गरिनेछ।
मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार कुन आयोजनामा कति जना फसेका छन्, कहाँ उद्धार भइरहेको छ, कति जनाको उद्धार भइसकेको छ, उद्धारका क्रममा आवश्यक सामग्री कहाँबाट परिचालन भइरहेको छ र ती सामग्री सम्बन्धित साइटमा पुगे वा नपुगेको अवस्थासमेत प्रणालीमा अद्यावधिक गरिनेछ।
उद्धार अभियानका क्रममा पहिलो दिनदेखि हालसम्म भएका गतिविधि, समय र निर्णयसमेत अभिलेख राख्ने तयारी मन्त्रालयले गरेको छ। आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञलाई समेत उद्धार तथा प्राविधिक कार्यमा जोड्ने संयन्त्र निर्माण गरिने मन्त्रालयले जनाएको छ।
उद्धार तथा पुनर्निर्माणमा एसएमटी सक्रिय
रसुवामा बाढी आएलगत्तै विपद् व्यवस्थापन, द्रुत उद्धार तथा पूर्वाधार पुनर्निर्माणलाई प्रभावकारी बनाउन मन्त्री श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय व्यवस्थापन संयन्त्र (सिनियर म्यानेजमेन्ट टिम–एसएमटी) गठन गरिएको थियो।
संयन्त्रमा मन्त्रालयका सचिव, विभाग तथा महाशाखाका प्रमुख, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकसहित उच्च अधिकारीहरू सहभागी छन्। संयन्त्रले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना, सबस्टेशन तथा अन्य ऊर्जा र सिँचाइ पूर्वाधारको अवस्था मूल्यांकन गर्दै उद्धार, राहत र पुनर्निर्माणमा समन्वय गर्दै आएको छ।
मन्त्रालयका उच्च अधिकारीहरू प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले आवश्यक सामग्री व्यवस्थापन, उद्धारमा गृह मन्त्रालय तथा विपद् व्यवस्थापन निकायलाई सहयोग, विद्युत् आपूर्ति पुनःस्थापना तथा वैकल्पिक ऊर्जाको व्यवस्थापनमा समन्वय गरेका छन्।
संयन्त्रको सक्रियतापछि नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा पुनःविद्युतीकरण भएको र रसुवामा पनि विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको मन्त्रालयले जनाएको छ।
मन्त्री श्रेष्ठले आइतबार मात्रै एसएमटीको दुई पटक बैठक राखेर प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार तथा पुनर्निर्माणको प्रगतिबारे जानकारी लिएका थिए। उनले सम्बन्धित सबै निकायलाई आफ्नो मातहतका स्रोतसाधन परिचालन गरी प्रभावकारी नेतृत्व र समन्वयका साथ काम गर्न निर्देशन दिएका छन्।
पहिलो दिनदेखि नै स्रोतसाधन परिचालन
एसएमटी गठन भएलगत्तै प्राविधिक तथा उच्च पदाधिकारीको टोलीलाई प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको थियो।
विद्युत् तथा सञ्चार सेवा प्रभावित भएका क्षेत्रमा तत्काल उज्यालो र सञ्चारको व्यवस्था गर्न २ किलोवाट क्षमताका संस्थागत सोलार प्रणाली तथा २० वाट क्षमताका ५०० वटा सोलार सेट खरिद तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइएको थियो। ती सामग्री दोस्रो दिन नै एकद्वार प्रणालीमार्फत रसुवाका प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, उद्धारका लागि नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित विभागसँग उपलब्ध एक्स्काभेटर, ड्रिलिङ मेसिन, सवारीसाधन तथा अन्य आवश्यक उपकरण प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
उद्धारको मुख्य जिम्मेवारी गृह मन्त्रालयअन्तर्गत रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गर्दै गृह मन्त्रालयलाई आवश्यक सहयोग उपलब्ध गराइएको मन्त्रालयको भनाइ छ।
जटिल प्राविधिक समस्या समाधान तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागितामा समेत समन्वय भइरहेको छ।
पुनर्निर्माणका लागि क्षति आकलन हुँदै
मन्त्रालयले अब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा बाढीबाट भएको विस्तृत क्षति आकलन गर्ने तयारी अघि बढाएको छ।
क्षतिग्रस्त जलविद्युत् आयोजना तथा सबस्टेशनको पुनरुत्थान, पुनर्निर्माण र पुनर्लाभका लागि आवश्यक स्रोत पहिचान तथा कार्यविधि निर्माणको कामसमेत तीव्र बनाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बाढीका कारण चार सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमतामा असर परेको छ। यो कुल विद्युत् आपूर्तिको करिब १० प्रतिशत बराबर रहेको मन्त्रालयको भनाइ छ।
प्रभावित आयोजनाको उद्धार, पुनःस्थापना र पुनर्निर्माणलाई व्यवस्थित बनाउन रियल टाइम अपडेट प्रणालीले सम्बन्धित निकायबीच सूचना आदानप्रदान र समन्वयलाई थप प्रभावकारी बनाउने मन्त्रालयको अपेक्षा छ।










Discussion about this post