कञ्चनपुर । विद्यार्थीहरूमा विज्ञान, प्रविधि, सिर्जनशीलता तथा व्यवहारिक सीप विकास गर्ने उद्देश्यले कञ्चनपुरको वेदान्त विद्या मन्दिरमा चार दिने ‘छुकछुके रोबोट निर्माण कार्यशाला २०८३’ सुरु भएको छ। वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन हुने उक्त कार्यशालाको अन्तिम दिन जेठ ३ गते अभिभावक भेटघाट तथा ‘छुकछुके रोबोट फुटबल प्रदर्शनी’ आयोजना गरिने विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक राकेश बहादुर चन्दले आधुनिक शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिकाइको आवश्यकता बढ्दै गएको बताउँदै विद्यार्थीहरूलाई प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्न कार्यशाला आयोजना गरिएको बताउनुभयो। उहाँले विद्यार्थीहरूमा नवप्रवर्तन, समस्या समाधान क्षमता, टोलीगत कार्य तथा आत्मविश्वास विकास गर्न यस कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने समेत बताउनुभयो।
कार्यशालामा सहभागी विद्यार्थीहरूले कम्प्युटरमार्फत डिजिटल डिजाइन, मेकानिकल संरचना निर्माण, इलेक्ट्रोनिक जडान तथा सञ्चालनसहित आफ्नै ‘छुकछुके रोबोट’ तयार गर्नेछन्। तालिमको अन्तिम दिन विद्यार्थीहरूद्वारा निर्मित रोबोटहरूको रोमाञ्चक फुटबल प्रतियोगिता आयोजना गरी अभिभावकसामु प्रत्यक्ष प्रदर्शन गरिने विद्यालयले जनाएको छ।
गोदावरी आविष्कार केन्द्रको प्राविधिक सहजीकरणमा हुने यस कार्यक्रममा प्रशिक्षकका रूपमा शेखर राम साउद र सम्राट भट्ट रहेका छन्। कार्यशालाले विद्यार्थीहरूलाई केवल किताबमा सीमित नराखी “सिकौं, बनाऔं र नवप्रवर्तन गरौं” भन्ने अवधारणाअनुसार व्यवहारिक निर्माण प्रक्रियामा सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ।










Discussion about this post