धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले नेपालको भविष्यका रूपमा रहेको ‘जेन्जी’ पुस्तालाई हतोत्साहित पार्ने कार्य नगर्न सबैलाई आग्रह गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै २३ र २४ गते भएको युवाहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको भन्दै त्यसका कारण जेन्जी पुस्तालाई निराश बनाउने काम भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभएको हो।
नगर प्रमुख हमालले युवाहरू राष्ट्रको भविष्य, गहना र आत्मा भएको बताउँदै उनीहरूले राज्यसत्ता नभई देशमा सुशासन र भ्रष्टाचारमुक्त समाजको माग गरेको कुरामा जोड दिनुभएको छ। “जेन्जी पुस्ता यो देशको भविष्य हो, गहना हो र आत्मा हो,” उहाँले लेख्नुभएको छ, “उहाँहरूले राज्यसत्ताको माग गरेको थिएन। उहाँका त देशमा भ्रष्टाचारको अन्त्य भई देशलाई सदाचारमा डोर्याउन उठाइएका आवाजहरू हुन्।”
उहाँले हालै बेदकोट नगरपालिका वडा नं. ४ का २४ वर्षीय नरेश धानुकले सामाजिक अत्याचार र हतोत्साहित पारिएको भन्दै आत्महत्या गरेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। यस्ता घटनाहरूले युवाहरूको मनोबल घटाउने र नकारात्मक बाटोतर्फ धकेल्ने उहाँको भनाइ छ। हमालले २०७९ माघ १० गते संघीय संसद भवनअगाडि ३७ वर्षीय प्रेम आचार्यले देशमा काम गर्ने वातावरण नभएको भन्दै आत्मदाह गरेको दुखद घटना पनि स्मरण गराउनुभएको छ।
नगर प्रमुख हमालले जेन्जी पुस्ताको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउन सबैलाई हार्दिक अनुरोध गर्दै उनीहरूलाई निराशा र आत्मग्लानिबाट मुक्त राख्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभएको छ। उहाँले युवाहरूलाई प्रोत्साहन र सहयोग गर्नु सबैको दायित्व भएकोमा जोड दिनुभएको छ।










Discussion about this post