महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसीस्थित महाकाली मोडर्न पब्लिक स्कुलमा विजया दशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत तथा नाटकमार्फत नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको महत्व झल्काउने विविध प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको सांगीतिक प्रस्तुति र नाटकले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई नेपाली समाजमा प्रचलित परम्परा, संस्कृति, रीतिरिवाज तथा चाडपर्व मनाउने तौरतरिकाबारे जानकारी गराउनु रहेको विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै विद्यार्थीहरूलाई नेपाली मौलिक संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समेत सहभागी गराउँदै आएको छ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गर्न, सिर्जनात्मक क्षमताको विकास गर्न तथा आफ्नो मौलिक संस्कृति र परम्पराप्रति सम्मानभाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।
विद्यालयले अध्ययन–अध्यापनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ। चाडपर्वका अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो संस्कृतिबारे व्यावहारिक ज्ञान हासिल गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमले नेपाली मौलिक संस्कृति र परम्पराको महत्व उजागर गर्नुका साथै विद्यार्थीहरूबीच आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्न योगदान पुर्याएको छ।








Discussion about this post