सानो छँदा आइरनम्यान, सुपरम्यान, ब्याटम्यान, स्पाइडरम्यान जस्ता मुभिहरू खुबै हेरिन्थ्यो। आहा! सुपरहिरोले संसार बचाएको देख्दा आफू पनि यिमध्येको एउटा सुपरहिरो हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। मुभि सकिएपछि आफूलाई तिमध्येकै सुपरहिरो सोचेर आफूसँग पनि ‘सुपरपावर’ छ जस्तो गरिन्थ्यो।
सानो छँदा यि सुपरहिरोहरूले दुनियाँ बचाएको मात्रै देखिन्थ्यो, कहिल्यै उनीहरूले आफूसँग लडिरहेको महसुस भएन। मुभिमा भएका सुपरहिरोहरू पनि आफूसँगको लडाइमा हुन्थे तर सानो हुँदा त्यो कहिल्यै महसुस भएन।
यिनीहरूको लडाइँ अरू सुपरहिरोको भन्दा फरक छ। आइरनम्यान मुभिमा टोनी स्टार्क (आइरन मेन) लाई आफ्नो भित्रको डर, चिन्ता र कमजोरीहरूसँग निरन्तर संघर्ष गरिरहेको देखाइएको छ। त्यस्तै, सुपरम्यानको लडाइँ आफ्नो असीमित शक्ति र नैतिक जिम्मेवारी बीचको द्वन्द्वमा आधारित छ। ऊ आफ्नो मानव मूल्यमान्यता (जस्तै, दया, विनम्रता) र आफ्नो विशाल शक्तिको बीच सन्तुलन कायम राख्न सधैं संघर्ष गरिरहेको देखाइएको छ।
अर्कोतिर ब्याटम्यानको लडाइँ अरू सुपरहिरोको भन्दा निकै गहिरो र अँध्यारो देखाइएको छ। अरू हिरोहरू आफ्ना शक्ति वा जिम्मेवारीहरूसँग जुझिरहेका हुन्छन्, तर मुभिमा ब्याटम्यानको लडाइँ आफ्नो विगतको आघात र क्रोधसँग देखाइएको छ। मुभिमा ब्याटम्यान र ब्रुस वेन दुवै एकअर्कासँग लडिरहेका हुन्छन्। ब्याटम्यानले आफ्नो पीडा र जिम्मेवारी कसैसँग पनि बाँड्न सक्दैन। उसले कसैलाई पनि पूर्ण रूपमा विश्वास गर्दैन, उसलाई लाग्छ कि उसका कारणले अरूहरू पनि खतरामा पर्न सक्छन्। यही एक्लोपन र अविश्वासले उसलाई मानसिक रूपमा थकाउँछ। ऊ आफ्नो पीडा र जिम्मेवारीको बोझ एक्लै बोकिरहेको हुन्छ।
तर स्पाइडर म्यानको आफैँसँगको लडाइँ अरू सुपरहिरोको भन्दा अलि फरक छ। टोनी स्टार्कको आन्तरिक द्वन्द्व उसको जीवनको त्रासदीसँग जोडिएको थियो, सुपरम्यानको द्वन्द्व उसको विशाल शक्तिसँग थियो, तर स्पाइडर-म्यानको लडाइँ भने साधारण मान्छेको जिम्मेवारी र सुपरहिरोको कर्तव्य बीचको संघर्ष देखाइएको छ। स्पाइडर म्यानले सधैं आफ्नो शक्तिको सदुपयोग गर्नुपर्छ र सहरको रक्षा गर्नुपर्छ भन्ने जिम्मेवारी महसुस गर्छ। तर यो जिम्मेवारी निभाउँदा उसले आफ्नो व्यक्तिगत जीवन जस्तै पढाइ, साथीभाइसँगको सम्बन्ध, र प्रेम जीवनलाई सन्तुलनमा राख्न सक्दैन।
वास्तवमा ती सुपरहिरोहरूबाट सिक्नुपर्ने धेरै थियो। सायद सानै उमेरमा तिनीहरूको संघर्ष र आफैसँगको लडाईबाट पाठ सिक्न सकेको भए जीवन सहज हुने थियो होला। तर प्रकृतिको नियमविपरीत जान सकिने र हुने सम्भावना पनि भएन। उमेरअनुसार नै सबै सिक्दै जाने हो, भोग्दै जाने हो। यी सुपरहिरो मुभिहरूलाई ‘इन्जोय’ गर्नुभन्दा पनि वास्तविक पाठ बुझ्न सक्यो भने जीवनमा आएका हरेक अप्ठ्यारा परिस्थितिको सामना गर्न सकिन्छ। यी मुभिमा भएका नायकहरूले आफ्नो कमजोरीलाई स्वीकार गरी नैतिक सिद्धान्तमा अडिग रहेका हुन्छन्। उनीहरूले सहयोग स्वीकार गर्नुका साथै विगतबाट पाठ सिक्ने तर त्यसलाई आफ्नो भविष्यलाई असर गर्न नदिने गर्छन्।
यी सुपरहिरोहरूको कथाले हामीलाई यही कुरा सिकाउँछ कि समस्यासँग लड्नका लागि ठूलो शक्ति होइन, बरु बलियो इच्छाशक्ति, नैतिकता, आत्म-स्वीकृति र सही निर्णय लिने क्षमता चाहिन्छ।
हामीले आफ्नो कमजोरी स्वीकार गर्ने र त्यसलाई शक्तिमा बदल्ने आँट गर्न सिक्नुपर्छ। टोनी स्टार्कले आफ्नो चिन्ता र डरलाई स्वीकार गरेर त्यसलाई आफ्नो आविष्कारको प्रेरणा बनायो। स्पाइडर-म्यानले आफ्नो जिम्मेवारी र व्यक्तिगत जीवनको सन्तुलन मिलाउन संघर्ष गर्छ, तर हार मान्दैन। यसले हामीलाई सिकाउँछ कि हामीमा पनि कमजोरीहरू हुन्छन्। हामीले ती कमजोरीलाई लुकाउनुको सट्टा स्वीकार गर्नुपर्छ र त्यसलाई आफ्नो बलियो पक्ष बनाउन प्रयास गर्नुपर्छ।
त्यसैगरी हामीले नैतिक सिद्धान्तमा अडिग रहन सक्नुपर्छ। ब्याटम्यानले जस्तोसुकै खतरनाक शत्रुसँग जुध्दा पनि “हत्या नगर्ने” आफ्नो सिद्धान्तलाई कहिल्यै छोड्दैन्। सुपरम्यानले आफ्नो असीमित शक्ति भए पनि मानवतामाथि हावी हुँदैन्। यसले हामीलाई सिकाउँछ कि जीवनमा नैतिक मूल्यमान्यता वा सिद्धान्तहरू बनाउनुहोस् र तिनमा अडिग रहनुपर्छ। हाम्रो सिद्धान्त नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो, जसले जीवनमा सही बाटो देखाउँछ।
त्यसैगरी सहयोग स्वीकार गर्ने र एक्लोपन महसुस नगर्ने हिम्मत राख्नुपर्छ। ती सुपरहिरो मुभिहरूमा सुरुमा धेरै सुपरहिरोहरूले आफू एक्लै सबै समस्या समाधान गर्न सक्छु भन्ने सोचेका थिए, तर पछि उनीहरूले साथी र परिवारको सहयोगको महत्त्व बुझे। यसले सिकाउँछ कि जीवनका कठिन परिस्थितिहरू एक्लै सामना गर्नु पर्दैन। साथीभाइ वा परिवारसँग आफ्नो समस्या बाँड्नुपर्छ, किनकि सहयोग माग्न सक्नु पनि एउटा ठूलो साहस हो।
अनि हामीले विगतबाट पाठ सिक्ने, तर त्यसले भविष्यलाई असर गर्न नदिने हिम्मत राख्नुपर्छ। ब्याटम्यानले आफ्ना आमाबुबाको मृत्युको पीडालाई बदलाको भावनामा परिणत नगरी त्यसलाई सहरको रक्षा गर्ने शक्तिको रूपमा प्रयोग गर्यो। यसबाट हामीले सिक्नुपर्छ कि विगतमा भएका नराम्रा घटनाहरूबाट पाठ सिक्नुपर्छ र त्यसलाई आफ्नो भविष्यलाई अझ राम्रो बनाउन प्रयोग गर्नुपर्छ।
यी त थिए सुपरहिरोहरूका किस्सा-कहानीबाट सिक्नुपर्ने कुराहरू तर वास्तविक जीवनमा केही लागु गर्न नसकिने अवस्था पनि हुनसक्छ। हामीले सिक्ने र बुझ्ने भनेको नै ‘नेभर गिभ अप’ हो। समस्याहरू आउलान्, कतिपय समस्याहरू अरूलाई बताउन नसकिने पनि होलान्। आफैभित्र राखेर घुटनमा बस्नुपर्ने बाध्यता पनि होला। तर हिम्मत राख्नुपर्छ, हार स्वीकार कदापि पनि गर्नु हुँदैन। दुनियाँसँग त जो पनि लड्न सक्छ, तर आफूसँग लड्न सक्ने र आफूलाई हराउन सक्ने व्यक्ति नै ‘रियल सुपरहिरो’ हो। आफैसँगको लडाइँ जित्ने व्यक्तिले अरूलाई पनि सही बाटो देखाउन सक्छ।
हामी जो पनि आफैसँग लडिरहेका छौं, हामीले हार स्वीकार गर्नु हुँदैन। हामीलाई कोही नबुझ्लान्, साथ दिने मान्छे नहोलान् तर हामी जो आफैसँग लडिरहेका छौं, हामी नै ‘सुपरहिरो’ हौं। हामीले आफैलाई हरेस खान अनुमति दिनै मिल्दैन। जे जस्तो सुकै परिस्थिति आओस्, हामीले सधैँ तयार रहनुपर्छ। ‘महान् शक्तिसँग महान् जिम्मेवारी पनि आउँछ।’ हाम्रो यही सकारात्मक पक्षले हामीजस्तै आफूसँग लडिरहेका अनेकौंलाई पनि बाटो देखाउन सक्छौं। हामीले हामिभित्रको लडाइँको लागि सधैँ तयार रहनुपर्छ, किनकी ‘वी आर सुपरहिरोज।’










Discussion about this post