पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको आगमन बढेको छ। पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेस भ्रमण गरेका छन्।
मादी गाउँपालिका–१ का वडाध्यक्ष देविजङ गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिखसम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका हुन्। यसअनुसार दैनिक औसत ५२४ जना पर्यटक गाउँमा भित्रिएका छन्।
पर्यटकमध्ये अधिकांशले सिक्लेसको भ्रमणपछि प्रसिद्ध पर्यटकीय गन्तव्य कोरी तथा हिमनदी तालतर्फ पदयात्रा गर्ने गरेका छन्।
छ दिनमध्ये कात्तिक १८ गते सबैभन्दा बढी ७१९ जना पर्यटक सिक्लेस पुगेका थिए भने कात्तिक १५ गते सबैभन्दा कम २५४ जनाको आगमन भएको थियो।
पर्यटकको बढ्दो आगमनले स्थानीय होटल तथा होमस्टे व्यवसायीमा उत्साह थपेको वडाध्यक्ष गुरुङले बताउनुभयो।
पोखराबाट करिब ३८ किलोमिटर दूरीमा रहेको सिक्लेस गुरुङ समुदायको बाहुल्यता भएको सुन्दर पर्यटकीय गाउँ हो।










Discussion about this post