कञ्चनपुर – वेदकोट नगरपालिकाले स्थानीय युवाहरूका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार वार्षिक कार्यक्रम अन्तर्गत नगरभित्रका युवाहरूलाई लक्षित गरी यो कक्षा आयोजना गर्न लागिएको हो।
सूचनामा उल्लेख भएअनुसार कक्षाका लागि प्रारम्भिक तह र निमावि तह (प्रथम पत्र) का लागि ५० जना शिक्षार्थी छनोट गरिनेछन्। कक्षा सञ्चालनमा दलित, जनजाति, आदिवासी लगायतका समुदायलाई विशेष प्राथमिकता दिइने बताइएको छ।
कक्षामा सहभागी हुन इच्छुक आवेदक वेदकोट नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ। आवेदकको उमेर १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको हुनुपर्ने छ, भने महिलाको हकमा उमेरको सीमा ४० वर्षसम्म तोकिएको छ। न्यूनतम शैक्षिक योग्यताको रूपमा कक्षा १० (एस.ई.ई.) उत्तीर्ण गरेको हुनुपर्नेछ।
आवेदन दिन इच्छुक उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र एक प्रति पासपोर्ट साइजको फोटो पेस गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र यी कागजातसहित नगरपालिकाको कार्यालयमा दरखास्त बुझाउन सकिनेछ।
नगरपालिकाले यो कार्यक्रममार्फत स्थानीय युवाहरूलाई शिक्षक सेवामा प्रवेशका लागि अवसर प्रदान गर्ने लक्ष्य राखेको छ। नगर प्रमुख भोजराज बोहराले यो कक्षाले युवाहरूलाई आत्मनिर्भर बनाउनुका साथै शिक्षक सेवामा योगदान पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले थप्नुभयो, “हाम्रो उद्देश्य स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नु र युवाहरूलाई सशक्त बनाउनु हो।”
यो कक्षा सञ्चालनले कञ्चनपुरका युवाहरूका लागि शिक्षक सेवाको तयारीमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
