कञ्चनपुर – क्याप्टेन वेद उप्रेतीले आफ्नो नयाँ उपन्यास ‘पायलट प्रेम’ बजारमा ल्याउनुभएको छ। बिहीबार महेन्द्रनगर म्यूजियममा आयोजित एक विशेष कार्यक्रममार्फत पुस्तक विमोचन गरिएको हो।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक विमोचन गर्दै क्याप्टेन उप्रेतीको विलक्षण प्रतिभाको प्रशंसा गर्नुभयो। उहाँले उपन्यास पाइलटहरूको जीवनमा आधारित रहेको र यसले नयाँ पाठक वर्गलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वरिष्ठ समाजसेवी, शिक्षाविद् तथा सुदूरपश्चिम विश्वविद्यालयका सिनेट सदस्य डा. कृष्णदत्त जोशी (बोक्सर) ले क्याप्टेन उप्रेतीको योगदानको चर्चा गर्दै, पाइलट मात्र नभई उहाँले अन्तर्राष्ट्रिय स्तरमा मातृभूमिको नाम उचो राखेको उल्लेख गर्नुभयो।
क्याप्टेन उप्रेतीले कोरोना महामारीका बेला इण्डोनेसियामा रहँदा उपन्यास लेखेको बताउनुभयो। यसअघि उनले ‘भू–स्वर्गको परिकल्पना: सुदूरपश्चिम नेपाल’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।
महेन्द्रनगर म्यूजियमका सञ्चालक समेत रहेका क्याप्टेन उप्रेतीको पुस्तक विमोचन कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।