कञ्चनपुर । जिमप्रतिको सामान्य लगावबाट खेलयात्रा सुरु गरेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४, बनकट्टीका युवा खेलाडी सुभास उपाध्यायले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन्।
सप्तरीको राजविराजमा सप्तरी वेटलिफ्टिङ एसोसिएसनको आयोजनामा सम्पन्न भएको ‘युथ, जुनियर एन्ड सिनियर नेसनल वेटलिफ्टिङ च्याम्पियनसिप’मा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन्। उनले प्रतियोगिताको ११० केजी तौल समूहमा प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै राष्ट्रिय कीर्तिमान समेत कायम गरेको बताए।
प्रतियोगितामा पदक र राष्ट्रिय कीर्तिमानसँगै प्रतियोगिताकै सर्वाधिक बलियो खेलाडी अर्थात् ‘स्ट्रङ्गेस्ट म्यान अफ द च्याम्पियनसिप’ को उपाधि समेत हासिल गरेको उपाध्यायले जानकारी दिएका छन्। सुरुवाती दिनमा शारीरिक तन्दुरुस्तीका लागि जिम जान थालेको र जिम जाँदा जाँदै भारोत्तोलन (वेटलिफ्टिङ) खेलतर्फ रुचि बढेको उनले बताएका छन्। त्यही रुचिलाई निरन्तर मेहनत र प्रशिक्षणमा बदल्दा राष्ट्रिय स्तरको प्रतियोगितामा स्वर्ण पदक र कीर्तिमान प्राप्त गर्न सफल भएको उनले बताए।
कञ्चनपुरबाट खेलकुद क्षेत्रमा उदाएका उपाध्यायको ऐतिहासिक सफलताले सुदूरपश्चिम र समग्र देशकै खेल क्षेत्रमा उत्साह थपेको छ। कडा परिश्रम र अनुशासन नै आफ्नो सफलताको मुख्य आधार रहेको बताउने उपाध्यायले आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत नेपालको झण्डा फहराउने लक्ष्य राखेका छन्।









Discussion about this post