फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिलका स्टार खेलाडी नेयमारले स्कटल्यान्डसँगको खेल पूरा ९० मिनेट खेल्ने भएका छन्। ३४ वर्षीय नेयमार चोटका कारण समूह ‘सी’ का यसअघिका मोरक्को र हैटीसँगका खेल गुमाएका थिए।
ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले नेयमारले समूह चरणको अन्तिम खेल पूरा समय खेल्ने बताएका छन्। मे ७ मा सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका नेयमार यस हप्ता पूर्ण प्रशिक्षणमा फर्किएका हुन्।
ब्राजिलका लागि सबैभन्दा धेरै ७९ अन्तर्राष्ट्रिय गोल गरेका नेयमार चौथो पटक विश्वकप खेलिरहेका हुन्।
ब्राजिल र स्कटल्यान्डबीचको खेल भोलि बिहान पौने ४ बजे अमेरिकाको मियामी रंगशालामा हुनेछ। समूह ‘सी’ मा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेको छ भने हैटीलाई ३–० ले पराजित गरेको छ। स्कटल्यान्डले हैटीलाई १–० ले हराएको र मोरक्कोसँग १–० ले पराजित भएको छ।
यसैगरी समूह ‘बी’ का खेलहरूमा स्विट्जरल्यान्ड र घरेलु टोली क्यानडा तथा बोस्निया एन्ड हर्जगोभिना र कतारबीच प्रतिस्पर्धा हुनेछ। स्विट्जरल्यान्डले कतारसँग १–१ को बराबरी खेलेको छ भने बोस्नियालाई ४–१ ले हराएको छ। क्यानडाले बोस्नियासँग १–१ को बराबरी खेल्दै कतारलाई ६–० ले पराजित गरेको छ।
समूह ‘सी’ अन्तर्गत मोरक्को र हैटीबीचको खेल एटलान्टा रंगशालामा हुनेछ। यस्तै समूह ‘ए’ मा दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिकोबीच खेल हुनेछ।
दक्षिण अफ्रिका मेक्सिकोसँग २–० ले पराजित भएको थियो भने चेक रिपब्लिकसँग १–१ को बराबरी खेलेको थियो। दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले हराएको थियो भने मेक्सिकोसँग १–० ले पराजित भएको थियो।










Discussion about this post