कञ्चनपुर — सिद्धबैजनाथ सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशनमा एकै घरका तीन पूर्व अध्यक्षलाई सम्मान गरिएको छ। सामुदायिक वनको संरक्षण र विकासमा अतुलनीय भूमिका निर्वाह गरेका संस्थापक अध्यक्ष स्व. नागी चन्द, उनका कान्छा पुत्र अशोक कुमार चन्द र जेठा पुत्र देव बहादुर चन्दलाई सम्मान गरिएको हो।
सिद्धबैजनाथ सामुदायिक वन २०५७ सालमा तत्कालीन दैजी गाविसको बगुन क्षेत्रमा स्थापना गरिएको थियो। स्थानीय समाजसेवी स्व. नागी चन्द वनको पहिलो अध्यक्ष चयन भएका थिए। उनले सात वर्षसम्म नेतृत्व सम्हाल्दै सामुदायिक वनलाई सशक्त बनाए।

स्व. नागी चन्दपछि २०६३ सालमा उनका कान्छा छोरा अशोक कुमार चन्दले वनको नेतृत्व लिए। उनी वेदकोट नगरपालिकाका पूर्व मेयर समेत हुन्। उनले एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाले।

त्यसपछि २०६७ सालमा स्व. नागी चन्दका जेठा छोरा देव बहादुर चन्द अध्यक्ष चयन भए। उनले आठ वर्ष नेतृत्व सम्हाल्दै वनको संरचना र व्यवस्थापनलाई नयाँ स्तरमा पुर्याए।
बुधबार सम्पन्न अधिवेशनमा सामुदायिक वनका वर्तमान अध्यक्ष राजेन्द्र प्रसाद भण्डारी तथा वेदकोट नगर प्रमुख भोजराज बोहराले सामुदायिक वन संरक्षण तथा विकासमा उनीहरूको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेका छन्। सम्मान ग्रहण गर्दै दाजुभाइ चन्दद्वयले समाजले आफ्नो कामको मूल्याङ्कन गरेकोमा आभार व्यक्त गरे।
