उम्दा सपनाहरू जन्माउन मुस्किल रहेछ
अझ आफ्नै बलमा पाउन मुस्किल रहेछ
मलाई आफ्नै सपनाले सुत्न दिएको छैन
भोको पेट सपना सजाउन मुस्किल रहेछ
तस्करहरूको लस्कर रहेछ यो भिडभाड
आफूले पाएको त बचाउन मुस्किल रहेछ
चोरेर जिन्दगी बाच्नेहरू श्रम गरेर हेर्नुस्
आफ्नै खेतबारी फलाउन मुस्किल रहेछ
जिन्दगी बाँच्न पनि मर्नु पर्छ कयौं पटक
बहुलाएर आफ्ना हँसाउन मुस्किल रहेछ
