काठमाडौं – चीनमा जारी यू–१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली यू–१९ महिला क्रिकेट टोलीले लगातार चौथो जित हात पारेको छ। आज भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनायो। नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन्। कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिइन्। चीनका चुनजुङ वाङ र शुतिङ याङले समान दुई विकेट लिए।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको चीन १३.३ ओभरमा ५७ रनमै समेटियो। चीनका युफेई सुनले २७ बलमा सर्वाधिक २८ रन बनाइन्। नेपालका रचना चौधरी र टीका शाहले समान तीन विकेट लिएपछि चीनको इनिङ्स सस्तैमा समाप्त भयो।
प्रतियोगितामा नेपालसँगै आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी छन्। आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकपको तयारीस्वरूप नेपालले चीनमा यो शृङ्खला खेलिरहेको हो।










Discussion about this post