काठमाडौं – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल टर्की प्रस्थान गरेको छ।
टर्कीको आन्ताल्यामा नोभेम्बर ९ देखि २० तारिखसम्म सम्मेलन आयोजना हुँदैछ। परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी, नोभेम्बर ११ र १२ मा हुने उच्चस्तरीय शिखर बैठकमा पनि उहाँ सहभागी हुनुहुनेछ।
प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसहित उच्च सरकारी अधिकारी गरी नौ जना सहभागी छन्।
सम्मेलनका क्रममा नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा पर्वतीय एजेन्डा तथा हिमनदी संरक्षणसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत आयोजना हुनेछ।
यसपटकको कोप सम्मेलनमा नेपालले जलवायु न्याय, पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण र जलवायु वित्तको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपालले हिमाली क्षेत्रमा यसको गम्भीर असर भोगिरहेको, हिमनदी पग्लिने क्रम बढेको र भोटेकोशीमा आएको विनाशकारी बाढीजस्ता विपद्बाट ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछ।
नेपालले हानि तथा नोक्सानी कोषबाट ऋण नभई सहज र प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउनुपर्ने माग पनि अघि सार्नेछ। साथै, कार्बन उत्सर्जन घटाउने विषयमा विकसित तथा धनी राष्ट्रहरूले गरेका प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनेछ।










Discussion about this post