कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा परम्परागत लोक नृत्य प्रतियोगिता २०८१ सम्पन्न गरिएको छ। ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ प्रादेशिक परम्परागत लोक नृत्य प्रतियोगिता सम्पन्न गरिएको हो। उक्त प्रतियोगिता सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा राष्ट्रिय तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाको सह-आयोजनामा सम्पन्न गरिएको छ।
शनिवार सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माया पन्तको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि. एन जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई संस्कृति, भाषा, साहित्य तथा कला प्रेमीहरूको साझा एकेडेमी बनाउन लागिपरेको बताएका छन् ।
त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका अध्यक्ष लालबहादुर धामी (अछामी बड्डा) ले सुदूरपश्चिमका नौ वटै जिल्लाको लोक संस्कृति जगेर्ना गर्न प्रतियोगिताको आयोजना गरिएको बताएका छन्। साथै उनले आगामी दिनमा सुदूरपश्चिमका सबै जिल्लामा यस्ता प्रतियोगिता आयोजना गरिनुपर्नेमा जोड दिए।
प्रतियोगितामा बैतडीको छलिया नृत्य प्रथम, कैलालीको कठरिया नृत्य द्वितीय, कञ्चनपुरको रानाथारु होली नृत्य तृतीय स्थान र डडेलधुराको रुपाली होली नृत्य र बझाङको डेउडाले सान्त्वना स्थान प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुर शाखाका कोषाध्यक्ष मासुम बिष्टले जानकारी दिएका छन्।
प्रतियोगिताका प्रथम, द्वीतिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल टिमहरूलाई क्रमश रू. २०,०००, १५,०००, १०,००० र ७००० हजार प्रदान गरिएको छ। साथै सहभागी सम्पूर्ण टिमहरूलाई समेत नगद रू. ४-४ हजार सहित सहभागिताको प्रमाण पत्र समेत प्रदान गरिएको कोषाध्यक्ष बिष्टले बताएका छन्।
प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट सहभागिता रहेको थियो। कार्यक्रममा कला संस्कृतिको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई समेत सम्मान समेत गरिएको छ। सुदूरपश्चिमका नौ वटै जिल्लाका परम्परागत लोक नृत्यको प्रस्तुति सँगै प्रतियोगिता सम्पन्न गरिएको आयोजकले जनाएको छ।









Discussion about this post