कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर ९ मा रहेको बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको ५ औँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष कर्ण सिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य माननीय बहादुर सिह थापाको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष कर्ण सिह बिष्टले सात सय पचास सदस्य रहको र जसमध्ये पाँच सय एघार धारा भने सुचारु भइसकेको बताए। ३ हजार घरधुरीलाई खानेपानी दिने उद्देश्यले उपभोक्ता तथा सरसफाइ समिति सञ्चालन गरिएको उनको भनाइ रहेको छ। उनले भने ‘३ हजार घरधुरीलाई खानेपानी दिने उद्देश्यले उपभोक्ता तथा सरसफाइ समितिको आयोजना गरिएको हो। अहिलेसम्म खानेपानीले दिएको निर्देशन अनुसार लाइन बिस्तारको काम सम्पन्न गरिसकेका छौ भने अन्य ठाउँमा पनि लाइन बिस्तारको लागी पहल गरिरहेको छौं।’ साथै सरोकारवाला निकायसँग सहकार्य गरेर आर्थिक अवस्था कम भएका घरधुरीलाई निशुल्क खानेपानी दिन समेत पहल चालु रहेको उनले बताए।

समितिका सचिव पदम सिह पदम सिह कुँवरले २०७१ समिति सञ्चालनमा आएदेखि पाँचौ साधारण सभासम्म आइपुग्दा विभिन्न समस्याहरूका बावजुद पनि उपभोक्ताहरूलाई स्वच्छ खानेपानीको अवस्था सिर्जना गर्न सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरे। उनले खानेपानी शुद्धिकरणको लागि क्लोरिन मेसिन समेत जडान गरिएको बताए। उनले भने’ खानेपानी शुद्धिकरणको लागि क्लोरिन मेसिन समेत जडान गरेका छौँ जसले भोलिका दिनमा पानीबाट लाग्न सक्ने रोगहरूको सम्भावना कम गर्न सहयोग गर्नेछ।’ हाल समितिमा ३ जना कर्मचारी रहेका र पानीको महसुल पनि ई-सेवा, खल्ती तथा बचत लगायतका अनलाइन सेवाहरूबाट तिर्न सकिने सचिव कुँवरको भनाइ रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि थापाले बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले स्थानीय स्तरमा गरेको योगदानको प्रशंसा गरेका छन्। साथै उनले आफ्नो तर्फबाट सकिने सबै सहयोग समितिलाई रहने प्रतिवद्धता समेत गरेका छन्।

कार्यक्रममा पूर्व सामाजिक विकाश मन्त्री लाल बहादुर खडका, वेदकोटका नगर प्रमुख भोजराज बोहरा, उप प्रमुख तुलशी जोशीको विशिष्ट आतिथ्य रहेको थियो।
समितिका सचिव पदम सिह कुवँरले सञ्चालन गरेको उक्त कार्यक्रममा वेदकोटका कार्यपालिका सदस्य, उपभोक्ता समितिका सदस्य, जनप्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो।











Discussion about this post