काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका व्यापारी तथा व्यवसायी पुरानै स्थानमा फर्किएर व्यवसाय सञ्चालन गर्न थालेका छन्। तर, बाढीले व्यवसायका संरचना, उपकरण र आवश्यक सामग्री बगाएपछि उनीहरूलाई व्यापार पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ।
बाढीबाट क्षति पुगेका व्यवसायीले पसल तथा अन्य व्यवसाय सञ्चालनका लागि आवश्यक सरसामानको अभाव झेलिरहेका छन्। सरकारले राहत प्याकेज घोषणा गरे पनि तत्काल आवश्यक सामग्री जुटाउन नसक्दा व्यवसायलाई पुरानै अवस्थामा फर्काउन समस्या भएको हो।
बाढीले दूध व्यवसायीका दूध सङ्कलन गर्ने क्यान र दूध चिस्याउने मेसिनसमेत बगाएको छ। त्यसैगरी, पसल सञ्चालनका लागि आवश्यक काठका र्याकलगायत सामग्रीको अभाव हुँदा व्यवसायीलाई दैनिक कामकाज अघि बढाउन कठिन भइरहेको छ।

व्यवसायीले तत्काल आवश्यक सामग्री उपलब्ध गराउन सके व्यवसाय पुनः सञ्चालन गर्न सहज हुने बताएका छन्। यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघले बाढी प्रभावित व्यवसायीलाई आवश्यक सहयोगका लागि सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघमा सम्पर्क गर्न आग्रह गरेको छ।
उज्यालोसँगको कुराकानीमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सम्बन्धित जिल्लाका उद्योग वाणिज्य संघमार्फत सहयोग मागेमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बाढीबाट प्रभावित व्यवसायीलाई दीर्घकालीन राहत उपलब्ध गराउनुका साथै तत्काल आवश्यक सामग्री र पूर्वाधारको व्यवस्था गर्न सके उनीहरूलाई पुनः व्यवसायमा फर्किन सहज हुने देखिन्छ।
सरकारले बाढी प्रभावित व्यवसायीका लागि विशेष राहत प्याकेजसमेत घोषणा गरिसकेको छ। उक्त प्याकेजमा भन्सार तथा कर छुट, बैंक कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने उपाय समेटिएका छन्।
तर, घोषणा गरिएका राहत सुविधाहरू व्यवसायीले अझै प्राप्त गर्न नसकेको गुनासो छ। तत्काल व्यवसाय सञ्चालन गर्न आवश्यक सामग्रीको अभाव र राहत सुविधामा भइरहेको ढिलाइले बाढी प्रभावित व्यवसायीको पुनःस्थापनामा थप चुनौती सिर्जना गरेको छ।
व्यवसायीलाई समयमै आवश्यक सामग्री, वित्तीय सहायता र सरकारी राहत उपलब्ध गराउन सके स्थानीय आर्थिक गतिविधि पुनः चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post