काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको संख्या बढ्दै गएको छ। घटस्थापनादेखि आज बिहानसम्म झण्डै एक साताको अवधिमा ४ लाख ४० हजारभन्दा बढी यात्रुले उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाबाट बाहिरिने तथा भित्रिने प्रमुख नाकाहरूमा सवारीसाधन र यात्रुको चाप बढेको छ। फूलपातीदेखि सरकारी कार्यालय, विद्यालय तथा अन्य निकायमा बिदा सुरु भएकाले घर फर्किने यात्रुको संख्या अझै बढ्ने अनुमान गरिएको छ।
यस वर्ष दसैँका लागि काठमाडौं उपत्यकाबाट झण्डै १० लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। लामो सार्वजनिक बिदा सुरु भएसँगै रोजगारी, अध्ययन तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा उपत्यकामा बस्दै आएका नागरिक गाउँघर फर्किन थालेका छन्।

यस वर्ष दसैँमा लगातार नौ दिनसम्म बिदा हुने भएकाले पनि यात्रुको आवागमन बढ्ने देखिएको छ। आइतबारसमेत बिदा हुने भएपछि सरकारी कार्यालयहरू कात्तिक ९ गते पूर्णिमापछि मात्रै खुल्ने जनाइएको छ।
मौसमसमेत क्रमशः घमाइलो बन्दै गएकाले दसैँका लागि यात्रा गर्नेहरूलाई सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, सडकमा ठूला अवरोध नरहे पनि यसअघि आएको बाढीपहिरोले क्षति पुर्याएका सडकखण्ड, खाल्डाखुल्डी र बिग्रिएका सडकका कारण यात्रा गर्न कठिनाइ भइरहेको यात्रुहरूले गुनासो गरेका छन्।
दसैँको मुख्य दिन नजिकिँदै जाँदा सार्वजनिक यातायातमा यात्रुको चाप थप बढ्ने भएकाले यात्रुहरूले अग्रिम टिकटको व्यवस्था मिलाउन र यात्राका क्रममा सावधानी अपनाउनुपर्ने देखिन्छ।










Discussion about this post