काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा आईसीसीले आगामी नोभेम्बर १९ देखि २१ सम्म अर्थात् मंसिर ३ देखि ५ गतेसम्म सम्मेलन आयोजना गर्न लागेको हो।
क्यानका अनुसार सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य देशका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका सदस्यहरूको सहभागिता रहनेछ। सम्मेलनमा क्रिकेटको विकास, क्षेत्रीय सहकार्य र एसियाली क्रिकेटलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ।
आईसीसीको एसिया सम्मेलन नेपालमा आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेलकुद पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने क्यानको अपेक्षा छ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूले नेपाल प्रिमियर लिग (एनपीएल) का इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम रहेको छ। यसले अन्तर्राष्ट्रिय क्रिकेट पदाधिकारीलाई नेपालको क्रिकेट प्रतियोगिता र खेलकुद गतिविधिबारे नजिकबाट जानकारी लिने अवसर प्रदान गर्नेछ।
एनपीएल आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। प्रतियोगिताको अन्तिम चरणका खेलसँगै आईसीसीको सम्मेलन आयोजना हुनुले नेपालमा क्रिकेट गतिविधि र अन्तर्राष्ट्रिय सहभागिता बढ्ने अपेक्षा गरिएको छ।










Discussion about this post