सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

७ समस्या, जुन किशोरपुस्ताले झेलिरहेका छन्

अहिलेका किशोरपुस्ता के चाहन्छन् ? कस्तो रुचि र आकांक्षा पाल्छन् ? कस्तो जीवन बाँच्न खोज्छन् ?

यी प्रश्नमाथि अभिभावकले खासै चासो देखाएको पाइँदैन । जबकि किशोरावस्थालाई शारीरिक र भावनात्मक परिवर्तनको चरण मानिन्छ । यतिबेला उनीहरु भिन्न दबाब र तनावबाट गुज्रिरहेका हुन्छन् ।

World Link Ads

यो चरणमा एकातिर पढाइका साथै करिअरको चिन्ता हुन्छ । अर्कोतिर नयाँ फेसन शैली अपनाउने साथीभाइसँग समय बिताउने रहर पनि हुन्छ । उन्मुक्त घुमफिर गर्ने, मीठो मसिनो परिकार खाने, मनोरञ्जन गर्ने इच्छा तीव्र हुन्छ । त्यसमाथि शारीरिक अंगहरुको विकास, हार्मोनको उतारचढावले उनीहरुलाई भावनात्मक रुपमा चञ्चल बनाइरहेको हुन्छ ।

करिअर बनाउनुपर्ने, साथीभाइलाई समय दिनुपर्ने, नयाँ–नयाँ पहिरन शैली अभ्यास गर्नुपर्ने जस्ता रहर र दबाबबीच कहिलेकाहीं उनीहरु खराब मनोदशाबाट गुज्रिन पुग्छन् ।

डिपे्रसनको डर

अहिले किशोरपुस्ताको मूल समस्या बनेको छ डिप्रेसन । खासगरी डिजिटल प्रविधिप्रतिको आशक्तिले उनीहरुलाई घरपरिवार, आफन्त, साथीभाइबाट अलग गरेको छ । उनीहरु गेम, भिडियो, सामाजिक सञ्जालमा एकोहोरिएका छन् । सबैबाट अलग भएर एक्लै बसिरहँदा उनीहरु भावनात्मक रुपमा कमजोर भएका छन् । कसैसँग नबोल्ने, कतै घुमफिर नगर्ने, घरपरिवारसँग बातचित नगर्ने प्रवृत्तिले उनीहरुलाई एकलकाँटे बनाउँदै लगेको छ । नतिजा, उनीहरुलाई डिप्रेसनले गाँज्दैछ ।

अन्धाधुन्ध यौन सम्बन्ध

किशोरावस्थामा पुगेपछि यौनाङ्गको विकास हुनका साथै उनीहरुमा यौनसम्बन्धी उत्सुकता जाग्न थाल्छ । विपरीत लिंगीसँग आकर्षित हुने, प्रेम गर्ने, डेटिङ जानेजस्ता कुरामा पनि उनीहरुको रुचि बढ्न थाल्छ ।

यही क्रममा उनीहरु यौन गतिविधिमा पनि सहभागी हुन सक्छन् । जबकि यतिबेला उनीहरुलाई सुरक्षित यौन सम्बन्धबारे थाहा नहुन सक्छ । यौन सम्पर्कका बेला उनीहरुले गर्भनिरोधक विधिहरु प्रयोग गर्दैनन् । असावधानीवश गरिने यौनक्रियाले किशोर पुस्तालाई नराम्ररी फसाउन सक्छ । अनिच्छित गर्भ रहनेदेखि एचआईभी, यौनजन्य रोग लाग्ने भय हुन्छ ।

लहलहैमा लागुपदार्थ

लागुऔषधको लत लाग्ने जोखिम पनि किशोर उमेरमा नै बढी हुने विभिन्न सर्वेक्षणले देखाएका छन् । ठूलाहरुको देखासिकीमा वा साथीभाइको लहलहैमा उनीहरु चुरोट तान्न थाल्छन् । चुरोट तान्ने साथीभाइको संगतमा घुलमिल हुँदै जाँदा उनीहरु लागुऔषध खान पुग्छन् । बिस्तारै उनीहरुलाई यसको लत नै लाग्छ ।

Sana Kishan

अहिले थुप्रै आमाबुवाको लागि सबैभन्दा बढी टाउको दुखाइको विषय बनेको छ, छोराछोरीको कुलत । लागुऔषधको लतमा परेपछि छोराछोरीले पढाइ, करिअर मात्र होइन, आफ्नो जीवनलाई पनि ध्यान दिंदैनन् । जसले उनीहरु न बाँच्नु, न मर्नुको दोसाँधमा हुन्छन् । एक जना सन्तान मात्र लागुऔषधको लतमा हुँदा पनि उनका परिवारले मानसिक यातना खेप्नुपर्ने हुन्छ ।

मोटोपनको मार

अहिलेका किशोरपुस्ता घरको खानामा भन्दा बढी बजारको प्रशोधित खानामा लोभिएका छन् । उनीहरुले कुरकुरे, चिप्स, बिस्कुट, चाउचाउ बढी रुचाउँछन् । नियमितजसोे फास्टफुड वा रेस्टुरेन्टको खानेकुरा खाने गर्छन् ।

पोषणको मात्रा अत्यन्तै कम हुने तर सोडियम, ट्रान्स फ्याटजस्ता तत्व उच्च हुने भएकाले यी खानाले उनीहरुलाई रोगी बनाउँदै लगेको छ । अनियन्त्रित खाने तर त्यस अनुरुप शारीरिक गतिविधि नगर्ने प्रवृत्तिले गर्दा किशोरपुस्तालाई मोटोपनले सताउँदै लगेको छ ।

साइबर बुलिङको सिकार

अहिलेका किशोरपुस्ताको अर्को जटिल समस्या हो साइबर बुलिङ । उनीहरु असावधानीवश सामाजिक सञ्जाल चलाउँछन् । जथाभावी साथी बनाउँछन् । मनको कुरा पोख्छन् । नितान्त व्यक्तिगत फोटो, भिडियो साझेदार गर्छन् । यो क्रममा उनीहरु थाहै नपाई गलत व्यक्तिको फन्दामा पुग्छन् ।

त्यस्ता व्यक्तिले उनीहरुलाई अनेक प्रलोभन देखाउने, डर त्रास पैदा गर्ने र अनुचित लाभ लिने प्रयास गर्छन् । यस क्रममा किशोरहरु साइबर बुलिङको सिकार बन्न पुग्छन् । सामाजिक सञ्जालजस्ता माध्यमबाट आउने धाकधम्कीले उनीहरुलाई भित्रभित्रै कमजोर, शिथिल र डिप्रेसनग्रस्त बनाउँछ ।

रिस पोख्न रक्सी

किशोरकिशोरी आफैंमाथि नयाँ नयाँ प्रयोग गर्न चाहन्छन् । कहिल्यै नखाएको खानेकुराको स्वाद कस्तो हुन्छ भन्ने उत्सुकताले पनि उनीहरुलाई रक्सी खान उक्साउँछ । साथै यतिबेला उनीहरुले खराब संगत गर्न सक्छन् र संगतकै कारण रक्सी पिउन सुरु गर्छन् ।

किशोरपुस्ता र उनका अभिभावकवीच कतिपय कुरामा असमझदारी हुन्छ । आमाबुवासँगको रिस पोख्न पनि उनीहरु रक्सी पिउन थाल्छन् । कहिले रहरमा, कहिले लहलहैमा, कहिले करकापमा त कहिले रिस पोख्न पनि रक्सी पिउन थाल्छन् ।

पढाइको पीर

खासगरी आमाबुवा र शिक्षकहरुले उनीहरुमाथि आफ्नो अपेक्षा लाद्न थाल्छन् । धेरै अंक हासिल गर्नुपर्छ, फलानोले जस्तै पढ्नुपर्छ, पढेर यस्तो बन्नुपर्छ भन्ने कुराले उनीहरुमा मनोवैज्ञानिक दबाब पनि पैदा गर्न सक्छ ।

हाम्रो शैक्षिक प्रणाली, पठन विधिले पनि कहिलेकाहीं किशोरपुस्तालाई मनोरोगी बनाउँछ । किशोरपुस्ताको रुचि, क्षमताअनुसार पठनपाठन गराउने प्रवृत्ति छैन । यस्तो अवस्थामा आमाबुवा वा शिक्षकलाई खुसी बनाउन पढ्नुपर्ने हुन्छ । अरुसँगको तुलना, प्रतिस्पर्धाले पनि उनीहरुलाई भावनात्मक रुपमा कमजोर बनाउँछ । जसले गर्दा किशोरपुस्ता एन्जाइटी, डिप्रेसन आदिको सिकार हुनुपर्ने अवस्था आउँछ । अनलाइनखबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close