सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोटोपन भएकालाई मुटुरोगको जोखिम हुन्छ ?

49
Sana Kishan

मोटोपन भएकालाई मुटुरोग हुन्छ ? धेरैको मनमा उठ्ने प्रश्न हो यो । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको जवाफ छ, ‘जोखिम हुन्छ ।’

त्यसो भए मोटोपन र मुटुरोगसँग के सम्बन्ध छ ? दुब्लो पातलोलाई मुटुको जोखिम हुन्न ? धुलिखेल अस्पतालमा कार्यरत डा. कोजु भन्छन्, ‘मोटो भएपछि मुटुको कार्यक्षमतामा भार थपिन्छ । खासगरी शरीरमा कोलेस्टोरेलको मात्रा बढेर रगतको नसामा जम्मा हुन्छ र नसा साँघुरो बनाइदिन्छ । यसले मुटुलाई पम्प गर्न गाह्रो हुन्छ ।’

Arus

हार्वर्ड हेल्थ पब्लिसिङमा एउटा लेख प्रकाशित भएको थियो, ‘के मोटोपनसँग मुटुरोगको सम्बन्ध छ ?’ शीर्षकमा । त्यसअनुसार पेट वरपर लाग्ने बोसो स्वास्थ्यका लागि खतरा हुन सक्छ । अमेरिकन हार्ट एशोसिएसनको जर्नलले यही विषयमा एउटा अध्ययन नै गरेको थियो । बेलायतमा गरिएको उक्त अध्ययनमा ४० देखि ६९ वर्षका करिब पाँच लाख मान्छे सहभागी गराइएको थियो । सहभागीमध्ये मोटोपन भएकालाई मुटुरोग र हृदयघात भएको पाइयो । उक्त अध्ययनअनुसार हृदयघात हुनेमा पुरुषभन्दा महिला बढी थिए ।

सन् २०२० जनवरी २१ मा अर्को यस्तै अध्ययन गरिएको थियो । युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित उक्त अध्ययनअनुसार जसको कम्मर आसपासमा अत्यधिक बोसो जमेका छन्, उनीहरुलाई हृदयघातको खतरा हुन्छ । अध्ययनले मोटोपनले मुटुरोगको जोखिम बढाउने कुरा उल्लेख गरेको थियो ।

 

डा. राजेन्द्र कोजुका अनुसार मोटोपनले मुटुरोगलाई बढावा दिने गर्छ । पेट र शरीरमा जम्ने बोसोले मुटुको कार्य सञ्चालनमा अवरोध ल्याउने त छँदैछ, उच्च रक्तचाप र मधुमेहको जोखिम पनि बढाइदिन्छ । अब प्रश्न उठ्छ, के दुब्लो पातलोलाई चाहिं मुटुरोगको जोखिम हुँदैन ?

‘दुब्लो पातलोलाई मुटुरोगको जोखिम हुँदै नहुने भने होइन,’ कालिका नगरपालिका नगर अस्पताल चितवनका मेडिकल अधिकृत डा. सुनिल अधिकारी भन्छन्, ‘तर मोटोपन भएकालाई जुन कारण र जति धेरै जोखिम छ दुब्लो पातलोलाई त्यस्तो हुन्न ।’ दुब्लो भएर पनि धुमपान गर्ने, चिनीयुक्त खानेकुरा खाने, सन्तुलित भोजन नगर्ने, तनावग्रस्त रहने व्यक्तिलाई मुटुरोगको उच्च जोखिम हुने डा. अधिकारी बताउँछन् ।

Karnali Traders

मोटोपन चाहिं किन बढ्छ त ?

डा. राजेन्द्र कोजु भन्छन्, ‘असन्तुलित खानपान, अत्यधिक खानपान, अनियन्त्रित खानपान नै यसको एउटा मूल कारण हो ।’ त्यसमध्ये पनि वंशाणुगत कारण वा कुनै रोगको कारण पनि मोटोपन बढ्ने उनले बताए ।

हार्मोनको असन्तुलन, हाइपोथायरायडिज्म, कोलेस्टोरेलले समेत मोटोपन बढाउन सक्छ । मोटोपन बढ्नुमा उमेर पनि एउटा कारण हुन सक्छ । मान्छेहरुको उमेर बढ्दै गएपछि शरीरमा बोसो जम्न थाल्छ । यसको कारण भनेको शरीरको पचाउने क्षमता कमजोर हुन थाल्नु हो । मेटाबोलिज्म कमजोर हुँदै गएपछि शरीर मोटो हुँदै जाने चिकित्सकको भनाइ छ ।

बोसोयुक्त खानपान, मदिरापान आदिले पनि मोटोपन बढाउन सक्छ ।

मोटोपन नियन्त्रण गरेमा मुटुरोगको जोखिम घट्छ ?

डा. राजेन्द्र कोजुका अनुसार मोटोपन नियन्त्रण भएसँगै मुटुरोगको जोखिम पनि कम हुँदै जान्छ । ‘तर यो मोटोपन घटाउनासाथ एक्कासि आउने परिवर्तन होइन,’ डा. कोजु भन्छन्, ‘मोटोपन नियन्त्रण भएसँगै क्रमशः मुटुरोगको जोखिम पनि कम हुने हो ।’ अनलाइनखबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.