बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १२ गतेदेखि पाटनमा हुने भएको छ। खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार प्रतियोगिता फागुन १२ देखि १४ गतेसम्म श्रीकृष्ण माविको खेलमैदानमा हुने भएको हो।
यसअघि मेलौलीमा हुने भनिएको प्रतियोगिता सबैको पायक पर्ने क्षेत्र पाटन रहेकाले पाटनमै प्रतियोगिता सञ्चालन गर्ने निर्णयमा भएको जनाएको छ। हाल जिल्लाका विभिन्न स्थानीय तहमा पालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालनमा रहेका छन्।
पालिकास्तरबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज जोशीले जानकारी दिए।
स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा अध्ययनरत १८ वर्षमुनिका विद्यार्थीका लागि प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स लगायतका खेल खेलाइनेछन्। विद्यालयहरू खेलकुद क्षेत्रको उद्गमस्थल रहेकाले प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। थाहा खबर बाट सभार