कञ्चनपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादमाथि ४ विकेटको रोमाञ्चक जित हासिल गर्दै प्रतियोगितामा लगातार दोस्रो सफलता प्राप्त गरेको छ। वाङखडे स्टेडियममा बिहीबार भएको खेलमा मुम्बईले १६३ रनको लक्ष्य १८.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनायो। अभिषेक शर्माले २८ बलमा ७ चौकासहित ४० रन बनाउँदै आक्रामक सुरुवात दिलाए। हेनरिक क्लासेन (३७), ट्रेभिस हेड (२८), नितिशकुमार रेड्डी (१९) र अनिकेत बर्मा (१८*) ले योगदान दिए। मुम्बईका लागि विल ज्याक्सले २ विकेट लिए भने जसप्रित बुम्राह, ट्रेन्ट बोल्ट र हार्दिक पाण्डेले १-१ विकेट हात पारे।
लक्ष्य पछ्याउने क्रममा मुम्बईका ओपनर रेन रिकेल्टनले ३१ रनको उपयोगी पारी खेले। रोहित शर्मा (२६), विल ज्याक्स (३६), सूर्यकुमार यादव (२६) र तिलक बर्मा (२१*) ले महत्वपूर्ण योगदान दिए। तर, खेलको निर्णायक क्षणमा कप्तान हार्दिक पाण्डेको विस्फोटक ब्याटिङले मुम्बईलाई जित दिलायो। उनले ९ बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए।
हैदरावादका कप्तान प्याट कुमिन्सले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए, तर टोलीलाई जिताउन पर्याप्त भएन।
यो जितसँगै मुम्बई इन्डियन्स ६ अंकसहित अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ भने हैदरावाद ४ अंकसहित नवौं स्थानमा झरेको छ।
मुम्बईले कमजोर सुरुवातपछि लय समातेको देखिएको छ, र यो जितले टोलीको मनोबल उच्च हुने अपेक्षा गरिएको छ।









Discussion about this post