कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई दुई दिने तालिम प्रदान गरिएको छ। शिक्षा विकास निर्देशनालय दिपायल, डोटीले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घसँगको सहकार्यमा शुक्रवारदेखि महेन्द्रनगरमा तालिम सञ्चालन गरेको हो।
महासङ्घका केन्द्रीय सचिव वीरेन्द्रराज विष्टले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ पालिकाबाट प्रतिनिधित्व गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई तालिम दिइएको जानकारी दिए। उनले पहिलो पटक प्रदेशभरिका अध्यक्षहरूलाई एकैसाथ तालिम आयोजना गरिएको बताए।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले तालिममा सिकेका विषयलाई व्यवहारमा लागू गर्न आग्रह गरे। उनले भने, “सार्वजनिक शिक्षाको सुधारमा विद्यालय व्यवस्थापन समितिको भूमिका महत्त्वपूर्ण छ। सामुदायिक विद्यालयको विकासमा सरकारसँगै समुदाय र अध्यक्षहरूको प्रभावकारी सहभागिता आवश्यक छ।” महानिर्देशक विष्टले महासङ्घको आग्रहमा यो तालिम आयोजना गरिएको बताए।
महासङ्घका केन्द्रीय अध्यक्ष गुणराज मुक्तानले सार्वजनिक विद्यालयको प्रगतिका लागि अध्यक्षहरूलाई शिक्षा अपरिहार्य रहेको बताए। उनले सरोकारवालाहरूसँगको अन्तरक्रियाले विद्यालयको थप विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै, महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रेमसिंह भाटले तालिममा सिकेका कुरा कार्यान्वयनमा ल्याउँदा सामुदायिक विद्यालयको उन्नतिमा टेवा पुग्ने बताए।
पहिलो पटक आयोजित यो तालिम तथा अन्तरक्रियालाई अध्यक्षहरूले प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। शनिवार सम्म सञ्चालन हुने तालिममा समग्र शैक्षिक सुधारका विषयमा समेत छलफल हुने जनाइएको छ।









Discussion about this post