शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा जेष्ठ चार शहीदका शालिक अनावरण गरिएको छ । जिल्लाको पाटन नगरपालिका ४ स्थित ठाँड बजार नजिकै निर्माण गरिएका शहीदका शालिक आइतबार अनावरण गरिएको हो ।
शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको शालिक अनावरण गरिएको स्थानीय समेत रहेकी नेपाली विद्यार्थी संघकी नेतृ भागरथी भट्टले बताइन् ।

स्व. राजबहादुर चन्दले शालिक निर्माणका लागि पहल गरेको र सो कार्यलाई पूर्णता दिएपछि शहीद दिवसको पूर्व सन्ध्यामा शालिक अनावरण गरिएको हो । शहरी विकास तथा भवन निर्माण कार्यालय, पाटन नगरपालिका, वडा कार्यालय लगायतको सहयोगमा शहीदका शालिक निर्माण कार्य सम्पन्न भएको निर्माण समितिका संयोजक दिपक चन्दले बताए ।

शालिक निर्माण समितिका संयोजक दीपक चन्दको अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । यस्तै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल बिशिष्ट अथिती रहेका थिए । सो कार्यक्रममा जिल्ला समन्वय समितिका पूर्व प्रमुख सिद्धराज भट्ट लगायतको सहभागिता रहेको थियो ।
देशमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो प्राणको आहूति दिने शहीदको सम्झनामा शालिक निर्माण हुनु राम्रो कार्य भएको जिल्ला समन्वय समितिका प्रमुुख खगेन्द्रसिंह धामीले बताए । शालिक अनावरण कार्यक्रममा बोल्दै उनले जेष्ठ चार शहीदकै बलिदानीका कारण देशमा प्रजातन्त्रको स्थापना भएको बताए । सगुन खबर बाट सभार
