बैतडीको पाटन नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति बनाएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भिएसओ र पिसवीनको सहयोगमा रणनीति बनाएको पाटन नगरपालिकाले जनाएको छ ।
रणनीति बालविवाह अन्त्यका लागि नगरपालिकाले गर्नुपर्ने कार्यका बारेमा उल्लेख गरिएको छ । यस्तै नगरपालिका क्षेत्रभित्र बालविवाह अन्त्यका लागि कस्ता खालका कार्यक्रम सञ्चालन गर्ने भन्ने योजना समेत समेटिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
रणनीतिको अन्तिम मस्यौदा बनिसकेको र त्यसलाई कार्यपालिकाबाट पारित गरेर लागू गर्ने तयारी भएको पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले बताए । बालविवाह अन्त्यका लागि नगरपालिकाले रणनीति बनाइसकेकाले सोही अनुसार अघि बढ्ने उनले बताए ।


पाटन नगरपालिकाले यसअघि नै हानिकार प्रथा उन्मूलनका लागि नीति बनाइसकेकाले सोही नीतिका आधारमा बालविवाह अन्त्यका लागि रणनीति बनाएको पाटन नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारीले बताइन् ।
सरकारले सन् २०३० भित्र बालविवाह अन्त्य गरिसक्ने लक्ष्य राखेकाले सोही लक्ष्यलाई पूर्ती गर्नका लागि बालविवाह अन्त्यका लागि रणनीति बनाइएको नगर प्रमुख रावलले बताए ।
बालविवाह अन्त्यका लागि बनाएको रणनीतिको अन्तिम मस्यौदाका बिषयमा सबै सरोकारवालाहरुसंग छलफल गरिसकिएको पिसवीनका फिल्ड संयोजक कृष्णदत्त भट्टले बताए । सगुन खबर बाट सभार
