कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका एक वडाध्यक्षले वडाका जनतालाई एकीकृत घुम्ती सेवा दिने भएका छन् । वेदकोट नगरपालिका -०८ का वडाध्यक्ष महेशराज जोशीले आउँदो आइतबारदेखि एकीकृत घुम्ती सेवा दिने भएका हुन् ।
वडाध्यक्ष जोशीले आफू निर्वाचित भएको २३ महिनामा गरेको कामकाजको समीक्षा सहित दुई दिने वडाबाट प्रदान हुने सबै सेवा जनताकै घरदैलोमा गएर दिने बताए । नेकपा एकीकृत समाजवादी वेदकोट नगरका अध्यक्ष समेत रहेका वडाध्यक्ष जोशीले आफ्नो कार्यकालमा गरेका कामकाज बारे जनतासँग समीक्षा, सुझाव सङ्कलनदेखि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम योजना बारे छलफल गरिने बताए । ‘मैले चुनावका बेला जनतासँग गरेका बाचा अनुरूप दुई दिन जनताकै घरदैलोमा गएर सबै सेवा दिन्छौँ, ‘उनले भने, ‘जे जे वडाबाट सेवा दिन्छौँ, त्यही दुई दिन जनताकै घरमा पुगेर दिन्छौँ ।’
पूर्व विद्यार्थी नेता समेत रहेका वडाध्यक्ष जोशीले चालु शैक्षिक सत्र २०८१ मा विद्यार्थी भर्ना अभियान सञ्चालन भईरहेका बेला ‘सबै बालबालिका विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चिता’ मूल नारा अघि सारेर शिक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएकाले सो अभियान समेत सफल पार्ने लक्ष्य रहेको बताए ।
आइतबार (९-बैशाख) बिहान शुभकामना टोलदेखि शुरु हुने घुम्ती सेवा दिउँसो कञ्चन टोल, शिवशक्ति टोल, वडा हल र सोमबार (१०-बैशाख) मा दिउँसो बैजनाथ टोल पुस्तकालय प्राङ्गणमा त्रिवेणी चोकमा हुनेछ । जिल्लाका ९२ वडामध्ये उक्त वेदकोट नपा -०८ ले यो पहिलो सेवा प्रदान गर्न थालेको जनाईएको छ ।