नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख ३० मा हुने निर्वाचनमा एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई लक्षित गर्दै उनले एमालेको बैसाखी टेकेर जित्ने सपना नदेख्न पनि चेतावनी दिए । नेकपा एमाले धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘औकात छ भने चुनावमा आउनुस्, अब नेकपा एमालेको बैसाखी टेकेर चुनाव जित्छु भन्ने सपना नदेख्नुस्’ नेता पोखरेलले भने । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले धोका दिएको पनि उनको आरोप थियो ।
‘पहिला एउटै चुनावी घोषणा पत्रमा चुनाव लडेका थियौं, धोका दिएर कांग्रेसका पक्षमा जानेलाई फेरि जिताइदिनुपर्ने जिम्मेवारी बोकेका छैनौं,’ पोखरेलले भने, ‘एक पटक कम्तीमा प्रचण्ड र मावध नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहन्छौं ।’
यस्तै दाहाल र नेपाल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोगी मात्रै बनेको उनको टिप्पणी थियो । ‘कांग्रेसको नेतृत्वको बाटोमा हिँड्नेहरु कसरी कम्युनिस्ट ? कसरी समाजवादी हुन्छ ? उहाँहरूले रोजेको बाटो देउवाजीको बाटो हो,’ उनले भने ।
यस्तै माओवादी केन्द्र र माधव नेपाल पक्ष चुनावका लागि तयार नभएको पनि उनले आरोप लगाएका छन् । उनीहरुले निर्वाचन सार्ने ’हतकण्डा’ प्रयोग गरेको पनि पोखरेलले बताए । सरिता श्रेष्ठले ekantipur.com मा लेखेका छन्।