बझाङ – बझाङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–१० का ४४ वर्षीय पुरुष रहेका छन् ।
विगत एक हप्तादेखि विरामी उनी चैनपुरमै भएर पनि मेडिकलबाटै उपचार गराइरहेको र अन्तिम अवस्थामा मात्रै शुक्रबार बिहान ६ बजे अस्पताल जाँदा ज्यान गुमाउनु परेको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले बताए ।
उनका अनुसार ती व्यक्तिमा कुनै रोग नरहेको र कोरोनाकै कारण मृत्यु भएको हो । योसँगै बझाङमा दोस्रो लहर सुरु भए यता मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ जना पुगेको छ ।
यसअघि बुधबार राति १२ः१५ बजे जनपा–८ एक ७२ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ । अहिले कोरोना र भाइरल ज्वरो छुट्याउन नसकिने हुँदा लक्षण देखापर्नासाथ अस्पतालले चेकजाँच गराउन सबैमा अनुरोध गरेको छ ।
हाल बझाङका विभिन्न गाउँमा विरामीहरु भए पनि उनीहरु सामाजिक बहिस्कार हुने डर र सामान्य रुघाखोकी ठानेर अस्पतालसम्म नआउने गरेको डाक्टर खड्काले बताए ।
(sudurkhabar.com बाट साभार)