कैलाली । सुदूरपश्चिममा पहिलो पटक संस्थागत रूपमा आधारभूत थिएटर कार्यशाला सञ्चालन गरिएको छ। वाल्मीकि इन्टरनेशनल स्कुल धनगढीले मण्डला थिएटर नेपालसंगको सहकार्यमा सुदूरपश्चिममै पहिलो पटक आधारभूत थिएटर कार्यशाला सञ्चालन गरेको थियो। कैलालीको धनगढीमा कार्यशाला सञ्चालन गरिएको हो।

थिएटर कार्यशालाको अन्तिम दिन पौष २८ गते विजय मल्लले लेखेको तथा विशाल केसी र पिंकी बोहराको निर्देशनमा रहेको “कोही किन बर्बाद होस्” नाटक वाल्मीकि इन्टरनेशनल स्कुलको हलमा मञ्चन गरिएको छ।

त्यसैगरी कार्यशालामा सहभागी वाल्मीकि इन्टरनेसनल स्कुलका विद्यार्थीहरू अभिनव खड्का, आकाश विष्ट, केशव थापा, खुशी मल्ल, डेनिशा चौधरी, निर्भाना भण्डारी, प्रतिभा भण्डारी, प्रदिती चन्द, प्रिन्स विष्ट, प्रनिश भट्ट, रोहन कुँवर, स्मृति सिवाकोटी, सृजना कडायत, साहिल खाती, शिक्षिका चौधरी र श्रीयाज साउँद लगायतले यस नाटकमा कलाकारको रूपमा मञ्चमा प्रस्तुति दिएका थिए।

वाल्मीकि इन्टरनेशनल स्कुलका प्रिन्सिपल द्रोनसिस न्यौपानेले १५ दिनको कडा परिश्रमपश्चात् थिएटर कार्यशाला सम्पन्न भएको बताउनुभएको छ। उहाँले भन्नुभयो ‘आज मञ्चन गरिएको कोही किन बर्बाद होस् नाटक असाधारण रूपमा सफल रह्यो। १५ दिनको कडा परिश्रम र समर्पणबाट मात्र यस्तो प्रस्तुति सम्भव भएको भन्ने कुरा पत्याउन पनि गाह्रो छ। हाम्रो विद्यार्थीहरूले देखाएको पेसागत कला र निपुर्णता यति स्तरीय थियो कि यो मञ्चन कुनै वास्तविक थिएटरमा हेरिरहेको अनुभव भयो।’

साथै प्रिन्सिपल न्यौपानेले मण्डला थिएटर नेपालका पिंकी बोहरा र विशाल केसीको निर्देशन र मार्गदर्शनप्रति आभार समेत प्रकट गर्नुभएको छ। ‘उहाँहरूको अथक प्रयासले विद्यार्थीहरूलाई आफ्ना भूमिकामा पूर्ण रूपमा डुब्न र वास्तविक भावना तथा मौलिकता साथ कथा प्रस्तुत गर्न सक्षम बनायो। नाटकप्रति दर्शकहरूले देखाएको उत्साहजनक प्रतिक्रिया यस प्रस्तुतिको सफलताको प्रमाण हो। उहाँहरू दुबै जनालाई हार्दिक आभार। यस नाटकले हाम्रो विद्यार्थीहरूको अद्भुत सम्भावनालाई मात्र उजागर गरेन, यसले हाम्रो समुदायमा सहानुभूति र समझदारीको भावना विकास गर्न नाटकको शक्तिलाई पनि देखायो।’

प्रिन्सिपल न्यौपानेले धनगढीमा कथा वाचन र नाटकको समृद्ध संस्कृति स्थापना गर्ने दिशामा एक आधारशिला राख्न सफल भएका बताउनुभएको छ। साथै उक्त कार्यमा सघाउने सम्पूर्णलाई आभार व्यक्त गर्दै प्रिन्सिपल न्यौपानेले आगामी दिनमा पनि यो यात्रा निरन्तर अघि बढाउने प्रतिबद्धता गर्नुभएको छ।









Discussion about this post