Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २४, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter
नेपालको उच्च शिक्षा प्रणाली यतिबेला गुणस्तर, प्रतिस्पर्धात्मकता, अनुसन्धान, सुशासन र संस्थागत विश्वसनीयताका आधारमा नयाँ ढङ्गले मूल्याङ्कन भइरहेको छ। आजको विश्वविद्यालय केवल शैक्षिक उपाधि प्रदान गर्ने संस्था मात्र होइन, ज्ञान उत्पादन गर्ने केन्द्र, अनुसन्धान र नवप्रवर्तनको आधारभूमि, दक्ष जनशक्ति उत्पादन गर्ने थलो तथा सामाजिक रूपान्तरणको प्रमुख माध्यम पनि हो। त्यसैले कुनै पनि विश्वविद्यालयको सफलता विद्यार्थी सङ्ख्या वा परीक्षाको नतिजाले मात्र मापन हुँदैन। विश्वविद्यालयको वास्तविक पहिचान त्यसको शैक्षिक उत्कृष्टता, सुशासन, पारदर्शिता, उत्तरदायित्व, अनुसन्धान संस्कृति तथा योग्यता प्रणालीप्रतिको प्रतिबद्धताबाट निर्धारण हुन्छ।
नेपालका सार्वजनिक विश्वविद्यालयहरूले लामो समयदेखि राजनीतिक हस्तक्षेप, ढिलो निर्णय प्रक्रिया, रिक्त पदहरूको समयमै पूर्ति नहुनु, अनुसन्धानको कमजोर अवस्था, प्रशासनिक जटिलता तथा सार्वजनिक विश्वासमा आएको कमी जस्ता चुनौतीहरूको सामना गर्दै आएका छन्। यी चुनौतीहरू सुदूरपश्चिम विश्वविद्यालयका लागि मात्र होइन, समग्र नेपाली उच्च शिक्षा प्रणालीका साझा चुनौती हुन्। यद्यपि चुनौतीसँगै अवसर पनि हुन्छ। नेतृत्वमा स्पष्ट दृष्टिकोण, संस्थागत इच्छाशक्ति र सबै सरोकारवालाको सहकार्य भएमा विश्वविद्यालयलाई रूपान्तरण गर्न सकिन्छ भन्ने विश्वास अहिले विस्तारै बलियो बन्दै गएको छ।
यस सन्दर्भमा सुदूरपश्चिम विश्वविद्यालयले पछिल्ला केही महिनामा थालेका सुधारका प्रयासहरू आशावादी देखिन्छन्। विश्वविद्यालयका उपकुलपति प्रा. डा. किशनदत्त भट्टले सार्वजनिक रूपमा आफू कुनै व्यक्ति वा समूहको दबाबमा नियुक्ति नगर्ने स्पष्ट पार्दै विश्वविद्यालय र आङिक क्याम्पस भित्रका सम्पूर्ण नेतृत्वदायी पदहरू खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको नेतृत्वबाट आएको यस्तो अभिव्यक्ति स्वागतयोग्य छ। यसले विश्वविद्यालयमा योग्यता प्रणालीलाई संस्थागत गर्ने र सुशासनप्रति नेतृत्व प्रतिबद्ध रहेको सन्देश दिएको छ।
यद्यपि कुनै पनि सार्वजनिक संस्थामा नेतृत्वको प्रतिबद्धता मात्र पर्याप्त हुँदैन। त्यसको प्रभाव व्यवहारमा देखिनुपर्छ। विश्वविद्यालयभित्र कार्यरत शिक्षक, कर्मचारी, विद्यार्थी तथा अन्य सरोकारवालाबीच विश्वविद्यालयका गतिविधिबारे छलफल हुनु स्वाभाविक हो। रिक्त पदहरू, नियुक्ति प्रक्रिया, प्रशासनिक निर्णय वा शैक्षिक सुधारका विषयमा उठ्ने जिज्ञासा र बहसलाई नकारात्मक रूपमा होइन, संस्थाप्रतिको चासोका रूपमा बुझ्नुपर्छ। स्वस्थ आलोचना, रचनात्मक सुझाव र सार्वजनिक बहसले संस्थालाई कमजोर बनाउँदैन; बरु अझ जिम्मेवार र उत्तरदायी बनाउँछ।
एक विश्वविद्यालयको वास्तविक शक्ति ऐन, नियम र संस्थागत प्रक्रियाको निष्पक्ष कार्यान्वयनमा निहित हुन्छ। त्यसैले वर्तमान तथा भविष्यमा हुने सबै नियुक्ति, सरुवा, बढुवा र अन्य अवसरहरू नेपालको संविधान, प्रचलित कानुन तथा विश्वविद्यालयका ऐन, नियमावली, विनियम र कार्यविधिको पूर्ण पालना गर्दै खुला प्रतिस्पर्धा, पारदर्शिता, समान अवसर, योग्यता, क्षमता र व्यावसायिक नैतिकताका आधारमा सम्पन्न हुने स्थायी प्रणाली विकास गर्नु समयको आवश्यकता हो। यस्तो व्यवस्था लागू गर्न सकियो भने विश्वविद्यालयप्रतिको जनविश्वास उल्लेखनीय रूपमा वृद्धि हुनेछ।
त्यसैगरी विश्वविद्यालयभित्र राजनीतिक भागबण्डा र व्यक्तिगत प्रभावका आधारमा अवसर वितरण गर्ने संस्कृतिको अन्त्य गर्नु आवश्यक छ। नियुक्ति, जिम्मेवारी वितरण, छात्रवृत्ति, अनुसन्धान अनुदान, तालिम, भ्रमण तथा अन्य अवसरहरू सबैका लागि समान रूपमा खुला र प्रतिस्पर्धात्मक हुनुपर्छ। विश्वविद्यालय राजनीतिक विचारको सम्मान गर्ने लोकतान्त्रिक संस्था हुन सक्छ, तर प्रशासनिक र शैक्षिक निर्णयहरू राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ। शिक्षक, कर्मचारी र विद्यार्थी सबैले संस्थागत हितलाई व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि राख्न सके मात्र विश्वविद्यालयको दीर्घकालीन विकास सम्भव हुन्छ।
सुशासनको अर्को महत्वपूर्ण आधार सहभागितामूलक निर्णय प्रक्रिया हो। विभाग, क्याम्पस र विश्वविद्यालय तहमा नियमित स्टाफ बैठक, शैक्षिक समीक्षा, योजना निर्माण तथा सरोकारवालासँग खुला संवादको संस्कृति विकास गरिनुपर्छ। प्रशासनिक निर्णयहरू एकलौटी नभई सामूहिक छलफलका आधारमा हुँदा निर्णयप्रति स्वामित्व बढ्छ, पारदर्शिता कायम हुन्छ र कार्यान्वयन पनि प्रभावकारी बन्छ। विश्वविद्यालयभित्र रहेका गुटबन्दी, अविश्वास र अनावश्यक ध्रुवीकरणले शैक्षिक वातावरणलाई कमजोर बनाउने भएकाले साझा उद्देश्यका आधारमा सहकार्यको संस्कृतिलाई प्रोत्साहन गर्नु आवश्यक छ।
शिक्षण–सिकाइको गुणस्तर विश्वविद्यालयको मूल आधार हो। त्यसैले प्रत्येक क्याम्पस तथा विभागले सान्दर्भिक तथा अद्यावधिक पाठ्यसामग्रीको व्यवस्था गर्नुपर्छ। सेमेस्टर प्रणालीलाई केवल परीक्षा लिने माध्यमका रूपमा होइन, निरन्तर सिकाइ र मूल्याङ्कनको प्रणालीका रूपमा कार्यान्वयन गर्नुपर्छ। आन्तरिक मूल्याङ्कन, कक्षा प्रस्तुतीकरण, परियोजना कार्य, अनुसन्धान तथा व्यवहारिक सिकाइलाई प्रभावकारी बनाउन आवश्यक छ। विद्यार्थीको सिकाइ अनुभव सुधार गर्न प्रत्येक कक्षामा अत्यधिक विद्यार्थी सङ्ख्या नराखी आवश्यकताअनुसार सेक्सन विभाजन गर्ने व्यवस्था पनि उपयोगी हुन सक्छ।
शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि अर्को महत्वपूर्ण पक्ष हो। समय–समयमा प्रशिक्षण, अन्तरक्रिया, कार्यशाला तथा शैक्षिक गोष्ठी सञ्चालन गरी नयाँ शिक्षण विधि, सूचना प्रविधि, अनुसन्धान पद्धति तथा कृत्रिम बुद्धिमत्ताको उपयोगसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुपर्छ। विश्वभर उच्च शिक्षामा कृत्रिम बुद्धिमत्ता को प्रयोग तीव्र रूपमा बढिरहेको वर्तमान अवस्थामा विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई डिजिटल युगअनुकूल बनाउन थालेका प्रयासहरू सकारात्मक छन्।
यसै सन्दर्भमा विश्वविद्यालयद्वारा आयोजित “Two-Day Capacity Enhancement Workshop on Administrative Management and AI Integration” उल्लेखनीय पहल हो। प्रशासनिक व्यवस्थापनलाई आधुनिक, प्रभावकारी, प्रविधिमैत्री तथा परिणाममुखी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा क्याम्पस प्रमुख, विभाग प्रमुख, स्कुल प्रमुख तथा प्रशासनिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। राष्ट्रिय योजना आयोगका सदस्य तथा एआई विज्ञ प्रा. डा. सुदन झा, पूर्वसचिव डा. हरि लम्साल तथा सूचना प्रविधि विज्ञहरूले विश्वविद्यालय प्रशासनमा डिजिटल रूपान्तरण, सुशासन, नेतृत्व विकास तथा एआईको व्यवहारिक प्रयोगबारे महत्त्वपूर्ण प्रशिक्षण प्रदान गर्नुभएको थियो। यस्ता कार्यक्रमहरूले विश्वविद्यालयलाई भविष्यको ज्ञान–आधारित संस्थाका रूपमा विकास गर्न सहयोग पुर्‍याउने विश्वास गर्न सकिन्छ।
विश्वविद्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा बैठक आयोजना गरी सबै क्याम्पस, स्कुल, विभाग तथा अनुसन्धान निकायहरूको कार्यसम्पादन समीक्षा गरेको कार्य पनि प्रशंसनीय छ। नियमित समीक्षा, उपलब्धिको मूल्याङ्कन, चुनौतीको पहिचान तथा आगामी कार्ययोजनाको स्पष्ट निर्धारणले संस्थागत उत्तरदायित्व र परिणाममुखी कार्यसंस्कृतिको विकास गर्छ। यस्ता अभ्यासहरूलाई वार्षिक औपचारिकतामा सीमित नराखी निरन्तर सुधारको प्रक्रियाका रूपमा विकास गर्न आवश्यक छ।
अनुसन्धान विश्वविद्यालयको मेरुदण्ड हो। यसै उद्देश्यका साथ विश्वविद्यालयको अनुसन्धान, नवप्रवर्तन तथा विकास केन्द्रले कोल्याबोरेटिभ अनुसन्धान, फेकल्टी अनुसन्धान तथा मिनी अनुसन्धान कार्यक्रम सञ्चालन गरी अनुसन्धान प्रस्तावहरूको प्रतिस्पर्धात्मक मूल्याङ्कन गरेको छ। अनुसन्धानका लागि प्रतिस्पर्धात्मक अनुदान, युवा अनुसन्धानकर्ताको क्षमता विकास तथा अनुसन्धानमा आधारित निर्णय प्रक्रियाले विश्वविद्यालयको शैक्षिक स्तरलाई उल्लेखनीय रूपमा उकास्न सक्छ। अनुसन्धानमा गरिने लगानी भविष्यमा विश्वविद्यालयको प्रतिष्ठा, राष्ट्रिय विकास र अन्तर्राष्ट्रिय सहकार्यका लागि महत्वपूर्ण आधार बन्नेछ।
विश्वविद्यालयभित्र सुशासन, मेरिट प्रणाली, प्रशासनिक सुधार, शिक्षण–सिकाइको गुणस्तर, अनुसन्धान तथा क्षमता अभिवृद्धि लगायतका सुधारहरूलाई पूर्णता दिन विश्वविद्यालयको परीक्षा प्रणाली, विद्यार्थी सेवा, आर्थिक सुशासन, अनुसन्धान विस्तार, अन्तर्राष्ट्रिय सहकार्य तथा समावेशी संस्थागत संस्कृतिमा पनि समान रूपमा सुधार आवश्यक छ। विश्वविद्यालयको उत्कृष्टता केवल राम्रो नेतृत्वले मात्र होइन, निष्पक्ष प्रणाली, उत्तरदायी प्रशासन र सबै सरोकारवालाको साझा सहभागिताबाट निर्माण हुन्छ।
विश्वविद्यालयको शैक्षिक विश्वसनीयताको आधार परीक्षा प्रणाली हो। परीक्षा निष्पक्ष, मर्यादित र विश्वसनीय हुन सकेन भने विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्रको मूल्य र प्रतिष्ठामा प्रत्यक्ष असर पर्छ। पछिल्ला वर्षहरूमा विभिन्न परीक्षा केन्द्रहरूमा चिटचोरी, मोबाइल फोन तथा कृत्रिम बुद्धिमत्ताको दुरुपयोग गरी उत्तर लेख्ने प्रयास, अनुशासनहीनता तथा परीक्षा सञ्चालनमा कमजोरीका विषयहरू सार्वजनिक रूपमा उठिरहेका छन्। यस्ता घटनाहरूले विद्यार्थीहरूको नैतिकता मात्र होइन, विश्वविद्यालयको समग्र शैक्षिक साखलाई समेत प्रभावित गर्छन्। त्यसैले परीक्षा प्रणालीलाई प्रविधिमैत्री, पारदर्शी र कडाइका साथ कार्यान्वयन गर्नु समयको आवश्यकता हो।
यसै उद्देश्यले परीक्षा मर्यादा कायम गर्न विश्वविद्यालयसमक्ष विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो। परीक्षा केन्द्रभित्र मोबाइल फोनको पूर्ण निषेध, नियमित र आकस्मिक अनुगमन, दुई तहको निगरानी प्रणाली, परीक्षा अवधिभर विशेष अनुगमन टोली परिचालन, चिटचोरी तथा प्रविधिको दुरुपयोगमा संलग्न व्यक्तिमाथि नियमअनुसार कारबाही, तथा परीक्षा मर्यादा कायम गर्न सक्रिय प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने व्यवस्था जस्ता विषयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा परीक्षा प्रणाली अझ विश्वसनीय बन्नेछ। परीक्षा केवल अंक प्राप्त गर्ने प्रक्रिया होइन, विद्यार्थीको वास्तविक सिकाइ र क्षमताको मूल्याङ्कन गर्ने माध्यम हो भन्ने संस्कृतिको विकास आवश्यक छ।
विद्यार्थी सेवा पनि विश्वविद्यालय सुधारको अर्को महत्वपूर्ण पक्ष हो। छात्रवृत्ति वितरण, शैक्षिक अवसर, अनुसन्धान अनुदान, तालिम, भ्रमण तथा अन्य सेवा–सुविधा सबै विद्यार्थीका लागि समान रूपमा उपलब्ध हुनुपर्छ। कुनै पनि प्रकारको राजनीतिक पूर्वाग्रह, व्यक्तिगत प्रभाव वा विभेदले योग्य विद्यार्थीलाई अवसरबाट वञ्चित गर्न हुँदैन। त्यसैगरी स्वतन्त्र विद्यार्थी गुणस्तर समूह निर्माण होस् वा अन्य विद्यार्थी गतिविधि, विश्वविद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीहरूले पूर्ण निष्पक्षता कायम गर्नुपर्छ। विश्वविद्यालय सबै विद्यार्थीको साझा संस्था भएकाले समान अवसर र समान व्यवहारको संस्कृति विकास गर्नु अत्यावश्यक छ।
आधुनिक शिक्षण–सिकाइका लागि भौतिक तथा डिजिटल पूर्वाधार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। कम्प्युटर ल्याब, स्मार्ट बोर्ड, इन्टरनेट सेवा, प्रिन्टर तथा अन्य शैक्षिक सामग्रीहरूको नियमित मर्मत–सम्भार र प्रभावकारी उपयोग सुनिश्चित गर्नुपर्छ। विभिन्न क्याम्पस र विभागहरूमा आवश्यक सामग्री उपलब्ध भए पनि नियमित मर्मतको अभावमा प्रयोगविहीन हुने गरेका छन्। स्रोतको उपलब्धताभन्दा त्यसको प्रभावकारी व्यवस्थापन र उपयोगिता बढी महत्वपूर्ण हुन्छ।
विश्वविद्यालयको अर्को संवेदनशील क्षेत्र आर्थिक सुशासन हो। सार्वजनिक स्रोतको सदुपयोग, बजेट निर्माणमा पारदर्शिता, प्राथमिकताका आधारमा खर्च तथा खरिद प्रक्रियामा स्वच्छ प्रतिस्पर्धा संस्थागत सुशासनका आधारभूत पक्ष हुन्। क्याम्पस तथा विभागहरूको बजेट मनोमानी रूपमा खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्दै शिक्षक, कर्मचारी तथा अन्य सरोकारवालासँग परामर्श गरी प्राथमिकता निर्धारण गर्नुपर्छ। निर्माण कार्य, सामग्री खरिद तथा सेवा प्राप्तिका सबै प्रक्रियामा पारदर्शिता अपनाउन सकिएमा विश्वविद्यालयप्रतिको जनविश्वास अझ बलियो हुनेछ। सूचनाको हकलाई सम्मान गर्दै प्रशासनिक, आर्थिक र शैक्षिक गतिविधिहरू नियमित रूपमा सार्वजनिक गर्नु पनि उत्तरदायी प्रशासनको महत्वपूर्ण आधार हो।
अनुसन्धानलाई केवल पदोन्नति वा औपचारिकतासँग जोड्ने होइन, समाजका वास्तविक समस्याको समाधान खोज्ने माध्यमका रूपमा विकास गर्नुपर्छ। प्रत्येक वर्ष अनुसन्धान, तालिम, गोष्ठी, सम्मेलन तथा शैक्षिक प्रकाशनका लागि पर्याप्त बजेट छुट्याउने नीति अवलम्बन गर्न सके विश्वविद्यालयको अनुसन्धान क्षमता उल्लेखनीय रूपमा वृद्धि हुनेछ।
विश्वविद्यालयले अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने दिशामा पनि सकारात्मक पाइला चालेको छ। Erasmus+ MAGENDA Project अन्तर्गत “Gender Equality in Higher Education” विषयमा आयोजित भिडियो प्रतियोगिताले विद्यार्थीहरूमा समावेशिता, लैङ्गिक समानता र सामाजिक उत्तरदायित्वको भावना विकास गरेको छ। यसैगरी Far Western University YouthMappers ले विद्यार्थी नेतृत्व, नवप्रवर्तन, डिजिटल म्यापिङ तथा सामुदायिक सेवामा उल्लेखनीय योगदान दिएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई कक्षाकोठाभन्दा बाहिर पनि नेतृत्व, अनुसन्धान र समाजसेवामा सक्रिय बनाउँछन्। भविष्यमा यस्ता अन्तर्राष्ट्रिय साझेदारी र विद्यार्थी–केन्द्रित कार्यक्रमहरू अझ विस्तार गरिनु आवश्यक छ।
विश्वविद्यालय नेतृत्वले टिकापुर बहुमुखी क्याम्पसमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम, राष्ट्रिय योजना आयोगसँगको सहकार्य तथा प्रशासनिक व्यवस्थापन र कृत्रिम बुद्धिमत्तासम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमहरूले पनि विश्वविद्यालयको विकासलाई नयाँ दिशा दिएका छन्।
यद्यपि विश्वविद्यालयको दीर्घकालीन सफलता नेतृत्वको मात्र जिम्मेवारी होइन। शिक्षक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा नीति निर्माताहरू सबैको साझा दायित्व हो। विश्वविद्यालयभित्र गुटबन्दी, व्यक्तिगत स्वार्थ, पक्षपात र अविश्वासको संस्कृतिलाई अन्त्य गरी सहकार्य, पारस्परिक सम्मान र साझा उत्तरदायित्वको वातावरण निर्माण गर्न आवश्यक छ। शिक्षक तथा कर्मचारीहरूको निष्पक्ष कार्यसम्पादन मूल्याङ्कन, इ–हाजिरी प्रणालीको प्रभावकारी कार्यान्वयन, कार्यसमयको पूर्ण पालना तथा इमानदार र मेहनती जनशक्तिलाई प्रोत्साहन गर्ने संस्कृतिले संस्थागत कार्यक्षमता अझ सुदृढ बनाउनेछ।
समग्रमा भन्नुपर्दा, सुदूरपश्चिम विश्वविद्यालय आज परिवर्तनको महत्वपूर्ण चरणमा उभिएको छ। पछिल्ला महिनाहरूमा भएका प्रशासनिक सुधार, अनुसन्धान प्रवर्द्धन, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय सहकार्य, क्षमता अभिवृद्धि, विद्यार्थी नेतृत्व विकास तथा सुशासनका प्रयासहरूले विश्वविद्यालय सही दिशामा अघि बढिरहेको संकेत दिएका छन्। यी प्रयासहरूलाई निरन्तरता दिँदै विश्वविद्यालयका सम्पूर्ण नियुक्ति, सरुवा, बढुवा तथा अन्य अवसरहरू विश्वविद्यालयका ऐन, नियमावली, विनियम र कार्यविधिअनुसार खुला प्रतिस्पर्धा, पारदर्शिता, निष्पक्षता, समान अवसर, योग्यता, क्षमता र व्यावसायिक नैतिकताका आधारमा सञ्चालन हुने स्थायी प्रणाली विकास गर्न सकियो भने सुदूरपश्चिम विश्वविद्यालयले निकट भविष्यमा नेपालको उत्कृष्ट सार्वजनिक विश्वविद्यालयका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ।
रचनात्मक सुझाव, स्वस्थ आलोचना र संस्थागत सुधारप्रतिको प्रतिबद्धता कुनै पनि नेतृत्व वा संस्थाविरुद्ध होइन; ती उत्कृष्ट विश्वविद्यालय निर्माणका आधारशिला हुन्। आज आवश्यकता कसैलाई दोष दिने होइन, सबैलाई साथ लिएर विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान, नवप्रवर्तन, सुशासन र शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा स्थापित गर्ने हो। यही साझा संकल्प र सहकार्यले सुदूरपश्चिम विश्वविद्यालयलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि सम्मानित उच्च शिक्षाको संस्थाका रूपमा स्थापित गर्न सक्नेछ।
✍️ लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।
सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो
विचार/ब्लग

भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको भविष्य: सन्तुलित कूटनीति, सामाजिक सद्भाव र आर्थिक स्वाधीनता नै मुख्य बाटो

साउन १८, २०८३
विचार/ब्लग

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
साउने सङ्क्रान्ति :  लोकसभ्यताको जीवन्त पर्व
विचार/ब्लग

साउने सङ्क्रान्ति : लोकसभ्यताको जीवन्त पर्व

साउन २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशत घट्यो, नेपालमा पनि प्रभाव

सुनको भाउ तोलामा ४ हजार ८ सयले बढ्यो, तीन लाख नाघ्यो

साउन २४, २०८३
‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३
संविधान कार्यान्वयन र संशोधनमा पुराना-नयाँ सांसदबीच संयुक्त संवाद

संविधान कार्यान्वयन र संशोधनमा पुराना-नयाँ सांसदबीच संयुक्त संवाद

साउन २४, २०८३
‘संघीय गणतन्त्र र जनताका अधिकारमाथिको चुनौती रोक्न अग्रगामी मोर्चा’ : रिजवान अन्सारी

‘संघीय गणतन्त्र र जनताका अधिकारमाथिको चुनौती रोक्न अग्रगामी मोर्चा’ : रिजवान अन्सारी

साउन २४, २०८३
वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न

वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व